चीनका रक्षामन्त्री डोङ जुन चिनियाँ सेनामा भ्रष्टाचार गरेको आरोपमा फसेका छन् ।
त्यसपछि उनीविरुद्ध अनुसन्धान सुरु भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
फाइनान्सियल टाइम्सको रिपोर्टमा, चीनका रक्षा मन्त्री डोङ जुन पीपुल्स लिबरेशन आर्मी (पीएलए) का वरिष्ठ अधिकारीहरूलाई लक्षित गरी भ्रष्टाचार विरोधी अभियानको एक भागको रूपमा यी आरोपहरूमा फसेका छन् ।
रिपोर्टका अनुसार भ्रष्टाचारका कारण चिनियाँ सेना कमजोर बन्दै गएको चीनलाई डर छ । त्यसैले सन् २०२३ देखि चिनियाँ सेनामा भ्रष्टाचार विरोधी अभियान चलिरहेको छ । यस अन्तर्गत हालसम्म नौ जना पीएलए जनरल र धेरै अधिकारीहरूलाई हटाइएको छ ।
डोङलाई सन् २०२३ मा चीनको रक्षामन्त्री बनाइएको थियो । यसअघि ली साङ्फु चीनका रक्षामन्त्री थिए । पदभार ग्रहण गरेको ७ महिनापछि मात्र लीलाई पदबाट हटाइएको थियो । २९ अगस्त २०२३ मा एक कार्यक्रममा भाषण दिएपछि उनी बेपत्ता भएका थिए । त्यसपछि सेप्टेम्बरमा उनलाई रक्षामन्त्रीको पदबाट हटाइएको थियो । कम्युनिष्ट पार्टीका अनुसार लीले सैन्य उपकरण खरिदमा अनियमितता गरेका थिए ।
यसअघि २०२३ मा वेइ फेङ्गेलाई पनि अनुशासन उल्लंघन गरेको आरोपमा कम्युनिष्ट पार्टीबाट निष्कासन गरिएको थियो । वेईमाथि पार्टीको विश्वास तोडेको, सेनाको प्रतिष्ठामा आँच पुर्याएको र ठूलो घुस लिएको आरोप लागेको थियो ।
डोङले रक्षामन्त्रीको रूपमा चीनको सैन्य कूटनीतिको निरीक्षण गर्छन् । गत हप्ता लाओसमा भएको रक्षा मन्त्रीहरूको बैठकमा डोङले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनसँग भेट्न अस्वीकार गरेका थिए ।
त्यसपछि यसको कारण ताइवानका सम्बन्धमा अमेरिकाको नीति रहेको बताइएको छ । तर, सेप्टेम्बरमा कमाण्डर तहको वार्ताका क्रममा डोङले अमेरिका र चीनबीचको सम्बन्ध सुधार गर्न हात अगाडि बढाएका थिए ।
सामान्यतया चीनमा रक्षामन्त्रीलाई ६ सदस्यीय केन्द्रीय सैन्य आयोग (सीएमसी) र राज्य परिषद्को सदस्य बनाइन्छ । यस वर्षको कम्युनिष्ट पार्टीको महाधिवेशनमा दोङलाई सीएमसीको सदस्य बनाइएको थिएन । यसपछि मार्चमा मन्त्रिपरिषद् पुनर्गठनका क्रममा उनलाई राज्य परिषद्को सदस्यसमेत बनाइएको थिएन ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ पीएलएबाट भ्रष्टाचार हटाउन प्रयासरत छन् । यस अनुसन्धानको मुख्य फोकस पीएलए रकेट फोर्स हो, जसले चीनको आणविक क्षेप्यास्त्र हतियार राख्छ । जुलाईमा सोही बलका अधिकारी सुन जिनमिङलाई पनि कम्युनिष्ट पार्टीबाट बर्खास्त गरिएको थियो। उनीमाथि पार्टीको अनुशासन र कानुन उल्लंघन गरेको आरोप लागेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ