बिहिबार, माघ ३, २०८१

चार्टर प्लेनबाट चीन भ्रमणमा जाँदै प्रधानमन्त्री खड्गप्रसाद ओली


कान्तिपथ


चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि यही मङ्सिर २० सम्म चीनको औपचारिक भ्रमण गर्दै छन् । ओली नेतृत्वको टोली आज बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रस्थान गर्नेछ भने स्थानीय समयअनुसार साँझ ६:१० बजे चीनको राजधानी बेइजिङ पुग्नेछ ।

जनस्तर र सरकार–सरकारका बीचमा परम्परागत र मित्रवत् सम्बन्धको लामो इतिहास भएको नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको यस भ्रमणको सबै तयारी पूरा भइसकेको छ । आइतबार साँझ भएको मन्त्रिपरिषद्को बैठकले भ्रमणका क्रममा हुने दुईपक्षीय कार्यसूची र सहयोगका क्षेत्रहरूलाई अन्तिम रूप दिइसकेको छ । भ्रमणमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्यको सहभागिता हुनेछ । बेइजिङस्थित नेपाली राजदूतावासबाट सरकारी प्रतिनिधिमण्डलमा आठ सदस्य थपिने छन् । सरकार टोलीका ४६ मध्ये दुई सदस्य तयारीका क्रममा चीन पुगिसकेका छन् ।

भ्रमणका क्रममा मङ्सिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् । त्यसपछि दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङलाई भेट गर्नेछन् । चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट हुनेछ । मङ्सिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन र बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन हुनेछ । सोही दिन सङ्ग्रहालय भ्रमण रहेको छ । प्रधानमन्त्री ओली मङ्सिर २० गते साढे २ बजे स्वदेश फर्कनेछन् ।

भ्रमणको तयारीकै क्रममा सत्तारुढ दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेसका शीर्ष दल र संयन्त्रस्तरमा विभिन्न चरणमा ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई) लगायत दुई मुलुकका सहयोग र सहकार्यका विषयमा गृहकार्य भएको छ । दुई देशशीच सहयोग र सहकार्य हुँदै आएका कनेक्टिभिटी, लगानी, व्यापार, पर्यटन, कृषि र पूर्वाधार विकासलगायतका क्षेत्रमा सहयोग र सहकार्यका विषयमा थप छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले चीनको भ्रमणको तयारीका क्रममा यही मङ्सिर १० गते पूर्वप्रधानमन्त्रीहरू र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा करिब साढे तीन घन्टा छलफल गरेका थिए । यही मङ्सिर १३ गतेको मन्त्रिपरिषद्को बैठकले भ्रमण दलमा रहने सरकारी र निजी क्षेत्रका प्रतिनिधिसहित भ्रमणलाई स्वीकृत गरेको थियो । भ्रमणको तयारीका क्रममा परराष्ट्रमन्त्री डा. राणाले शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छन्दुमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरी स्वदेश फर्किएका थिए ।

भ्रमण दलमा प्रथम महिला राधिका शाक्य परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सङ्घीय सांसद्हरू, मुख्यसहित विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीलगायत छन् ।

आगामी वर्ष नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाइने सन्दर्भमा पनि यो भ्रमण थप महत्वको विषय बनेको छ । चीनले हालै नेपाली पर्यटकका लागि भिसा शुल्क नलाग्ने घोषणाका साथै नेपाल–चीनबीचका सबै परम्परागत सीमानाका पुनः नियमितरूपमा सञ्चालन ल्याएएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत