आइतवार, माघ ६, २०८१

भमके खोलामा पुल निर्माण सुरू भएपछि स्थानीय खुसी


कान्तिपथ


तुलसीपुर । दाङको गहते–बाघमारे–हापुरे सडकबिचमा पर्ने भमके खोलामा पुल निर्माण सुरू भएपछि त्यस क्षेत्र भएर आवतजावत गर्नेहरू खुसी भएका छन् ।

शान्तिनगर गाउँपालिका–५ चिराघाटका ऋषिराज अधिकारीले वर्षातको समयमा खोलो बढ्दा आवतजावतमा समस्या हुने गरेको भए पनि अब पुल बनेमा सहज हुने भन्दै खुसी व्यक्त गरे । “वर्षातमा निकै समस्या हुन्थ्यो, खोलाले आवतजावत नै रोक्ने अवस्था हुन्थ्यो”, उनले भने, “अब यो समस्या टरेको छ ।”

त्यस्तै, तुलसीपुर–१ भमकेका रामबहादुर चौधरीले पनि खोलामा पुल बन्न लागेकाले आवतजावतमा सहज हुने बताए ।

बहुवर्षीय ठेक्काका रूपमा रहेको उक्त पुल निर्माण भएमा आवतजावतमा सहज हुनेछ । यसअघि पुल नहुँदा वर्षातमा पानीको बहाव बढ्दा आवतजावतमा समस्या हुने गरेको थियो ।

सडकबिचमा पर्ने उक्त खोलामा बक्स कलभर्ट पुल निर्माण हुनेछ । त्यसका लागि शारदा निर्माण सेवासँग रू दुई करोड १२ लाख ६४ हजारमा सम्झौता भएको छ । साथै सोही सडकको बौलाहखोलामा पनि पुल निर्माणका लागि सोही निर्माण कम्पनीसँग सम्झौता भएको छ । बैलाहाखोलाको काम भने सुरू भएको छैन ।

गएको असारमा सम्झौता भएको भमके खोलाको पुल निर्माण कार्य १८ महिना भित्र सक्नुपर्ने सम्झौता रहेको सडक पूर्वाधार विकास कार्यालय दाङका प्रमुख मनिषकुमार अर्यालले बताए ।

पश्चिम दाङका सडक बीचमा पर्ने खोलाहरूमा आफूले बहुवर्षीय ठेक्का हुनेगरी बजेट विनियोजन गरेको भन्दै त्यसको कार्यान्वयनका लागि आफू लागिरहेको लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीले बताए ।

उनले पश्चिम दाङको सडक तथा पुलहरूका लागि आफू मन्त्री हुँदा पनि बजेट हालेको र अहिले सांसद हुँदा पनि बजेट बिनियोजन गरेको भन्दै त्यसको कार्यान्वयनको विषयमा पनि पटक–पटक अनुगमन गरिरहेको उनको भनाइ छ ।

अहिले सम्झौता गरेर काम गर्नुपर्ने भए पनि पर्याप्त बजेट नहुँदा भने समस्या भएको कार्यालय प्रमुख अर्यालले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत