बिहिबार, माघ ३, २०८१

तिमीलाई जिताएर के हुन्छ ?

दीपक खनाल – सीतापाइला, काठमाडौँ


कान्तिपथ


तिमीलाई जिताएर के हुन्छ ?
तिम्रो नाम हुन्छ ।
मेरो बद्नाम हुन्छ ।
तिम्रो नहुने पनि काम हुन्छ ।
मेरो हुने काम पनि हजम हुन्छ ।

तिमीलाई जिताएर के हुन्छ ?
तिम्रो बेइमान बढ्छ।
मेरो इमान घट्छ ।
मालिकहरूसँग तिम्रो हिमचिम बढ्छ ।
श्रमजीवीका मुद्दा बिचमै मर्छ ।

तिमीलाई जिताएर के हुन्छ ?
तिम्रो ´ब्ल्यामेलिङ` झन् झन् बढ्छ ।
मेरो स्वाभिमान/इमान्दारिता तल तल पर्छ ।
तिमीलाई छोराछोरी पढाउन फि तिर्नुपर्दैन ।
तिमीलाई इन्धन हाल्न कुपन काट्नु पर्दैन ।
तिमीलाई भिसाका लागि लाइन बस्नैपर्दैन ।
ठेक्का, टेन्डरका लागि अनलाइन भर्नैपर्दैन ।

हो, तिमीलाई जिताएर के हुन्छ ?
तिम्रै ‘बार्गेनिङ’/बायोडाटा’ बढ्छ ।
विभिन्न नियुक्ति मिलाउँछाै ।
घुम्ने मेचमाथि निदाउँछाै ।
मै माथि शासन चलाउँछाै ।
मेटिन्छन् तिम्रा स्मृति रेखाहरू
भुल्छाै भोट
दिन्छाै चोट
देख्छाै मेरै खोट
बाहिर मिठाे भाषण गर्छाै
भित्र नमिठाे शासन गर्छाै ।

हो भन साथी !
तिमीलाई जिताएर के हुन्छ ?
तिम्रै जय हुन्छ ।
मेरै पराजय हुन्छ ।
तिम्रो पद कुकर्म छोप्ने
आवरण बन्छ ।
अन्तरमनले यसै भन्छ ।
तर पनि
मन अमिलो बनाएर
आफ्नै आत्मालाई झुक्याएर
तिमीलाई नै भोट हाल्न अभिशप्त हुन्छु ।
किनकि
म पनि तिमी जस्तै कार्याकर्ता हुँ ।
तिमी पनि म जस्तै कार्याकर्ता हाै ।
तिम्रो र मेरो फण्डा एउटै हो ।
तिम्रो र मेरो झण्डा एउटै हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत