म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने पर्यटकलाई विभिन्न जातीय समुदायको पोसाक भाडामा लगाएर आम्दानी गर्न थालेका छन् ।
अहिले तोरी फुलेर मनमोहक बनेको रत्नेचौरमा रमाउन आउने पर्यटकहरुले मगर, क्षेत्री, थकाली, ब्रह्माणलगायत जातजातीको पोसाक लगाएर तस्बिर, श्रव्यदृश्य खिच्ने गर्दछन् । पर्यटकलाई जातजातीको मौलिक पोसाक भाडामा लगाएर स्थानीयले आम्दानी गर्न थालेका हुन् ।
स्थानीय रामकृष्ण पुनले एक जोडा पोसाक एक घण्टा प्रयोग गरेबापत दुई सयदेखि तीन सय ५० सम्म लिने गरेको बताए । ‘मसँग १५ जोर मगर ड्रेस छन्,’ उनले भने, ‘दिनमा १० देखि १५ जनाले भाडामा लैजानु हुन्छ।’ रेष्टुरेन्ट सञ्चालकसमेत रहेका थापाले पर्यटकको तस्बिर पनि खिचिदिने गरेका छन् । एउटा तस्वीर खिचेबापत २० रुपैयाँ लिने गरेको थापाले बताए ।
रत्नेचौरमा महिला सहकारी संस्था र अन्य रेष्टुरेन्ट तथा पसलहरुले पनि जातीय पोसाक भाडामा लगाउने गरेका छन् । आकर्षक देखिने भएकाले जातीय पोसाक पर्यटकको रोजाइमा पर्ने गरेको छ । बागलुङबाट रत्नेचौर आएकी स्मृति रानाले मौलिक पोसाकमा सजिएर खिचेको तस्बिर र बनाएको भिडियो स्मरणयोग्य भएको बताए ।
केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ ।
यहाँ दैनिक तीन सयदेखि पाँच सयजना आउने गरेका स्थानीय कुशल शर्माले बताउनुभयो । उत्तरतिर सेता हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पर्यटक आउने गरेका हुन्।
रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने तीनसय ८८ मिटर लामो झोलुङ्गे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षणको केन्द्र हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ