सोमवार, मंसिर २९, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • सार्वजनिक ऋण व्यवस्थापन कार्यालय : साढे १५ अर्बको ट्रेजरी बिल बोलकबोल गर्दै

सार्वजनिक ऋण व्यवस्थापन कार्यालय : साढे १५ अर्बको ट्रेजरी बिल बोलकबोल गर्दै


गणेश विक


काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको छ ।

कार्यालयले १५ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको हो ।

 जसमध्ये १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको र ५ अर्बको रुपैयाँ बराबरको नयाँ (फ्रेस) ट्रेजरी बिल जारी गर्न लागेको कार्यालयले जनाएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९१ दिन र २८ दिन को लागि ट्रेजरी बिलमा बोलकबोल गर्दै छ । 

कार्यालयले ९१ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नयाँ जारी गर्न लागेको हो । यो ट्रेजरी २०८२ वैशाख ९ गते परिपक्व हुनेछ ।

यस्तै, ९१ दिन अवधिकै १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो पनि २०८२ वैशाख ९ गते परिपक्व हुनेछ ।

बोलकबोलमा सोमबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सहभागी हुन सकिनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । 

यसअघि माघ २ मा बोलकबोल भएको २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिलको खरिदका लागि १५ अर्ब १७ करोड ४५ लाख बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २.७९ प्रतिशत कायम भएको थियो ।

अहिले सबै प्रकारका ट्रेजरी बिलको ब्याजदर ३ प्रतिशत भन्दा तल नै रहेको छ । 

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत