काठमाडौँ । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रौतहट बृन्दावन नगरपालिका-६ घर भएका हाल काठमाडौँ नागार्जुनमा बस्ने ३६ वर्षीय विजय साह, धनुषा धनुषाधाम नगरपालिका-४ घर भई ललितपुरमा बस्दै आएको ३२ वर्षीया नेहा अधिकारी र धादिङ नेत्रावती डबजोङ गाउँपालिका-५ घर भई ललितपुर महानगरपालिकामा बस्ने ४७ वर्षीया विवाह घले रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ मध्ये विजयले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८० हजार रुपैयाँ लिएको थियो भने, नेहाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २४ लाख ५० हजार रुपैयाँ र विवाहले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो ।
उक्त रकम लिएर सम्पर्कविहीन भएपछि पीडितहरू दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विजयलाई काठमाडौँ र नेहालाई ललितपुरबाट सोमबार र विवाहलाई ललितपुरबाट मंगलबार पक्राउ गरेको हो ।
हाल पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
यसैगरी करोडौं रकम ठगी गर्ने राजेन्द्र सापकोटा भने फरार रहेका छन्, उनको खोजि कार्य जारी रहेको प्रहरी बताएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ