आइतवार, चैत्र १०, २०८१

पूर्वऊर्जा राज्यमन्त्री शर्माको बागलुङमा अन्त्येष्टि


गणेश विक


गण्डकी । उपचारका क्रममा भारतको एक अस्पतालमा मङ्गलबार निधन हुनुभएका पूर्वऊर्जा राज्यमन्त्री एवं संविधानसभा सदस्य रामजीप्रसाद शर्माको बिहीबार बागलुङस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ ।

सशस्त्र प्रहरी बलको शोक सलामीसहित गरिएको अन्त्येष्टिमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित सयौँ मानिस उपस्थित थिए ।

पूर्वप्रधानमन्त्री नेपालले दिवङ्गत शर्माको घर र अन्त्येष्टिस्थलमा पुगेर शर्माप्रति श्रद्धाञ्जली अर्पण गरे ।

त्यस क्रममा उनले नेपालको राजनीतिक आन्दोलनले असल र निष्ठावान नेतालाई गुमाएको बताए । अढसठ्ठी वर्षको उमेरमा भएको शर्माको अप्रत्यासित निधनको खबरले आफू स्तब्ध बनेको नेता नेपालको भनाइ थियो ।

मानिसको जीवन नश्वर रहेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले व्यक्ति दिवङ्गत भएर गए पनि उनका सही कर्म र योगदानको सदा स्मरण भइरहने बताए ।

जेबी टुहुरेको गीत ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदोरैछ, देशभक्त छोरो मर्दा देशै रूँदो रैछ’ सम्झँदै उनले शर्माको निधनको खबर सुन्ने जोकोही मर्माहत भएको बताए ।

पूवप्रधानमन्त्री नेपालले आगामी ससंद् बैठकमा दिवङ्गत शर्माप्रति श्रद्धाञ्जलीसहित सम्मान गरिनुपर्नेमा जोड दिए ।

देश र जनताप्रति जीवन समर्पित गर्नेहरू सधैँ प्रंशसायोग्य रहने भन्दै उनले शर्मा पनि आफ्ना व्यवहार र आचरणका कारण जनतामाझ लोकप्रिय रहेको बताए ।

२०६४ को पहिलो संविधानसभा चुनावमा बागलुङ–१ बाट निर्वाचित शर्मा बागलुङको कम्युनिष्ट आन्दोलनको अगुवा नेताका रूपमा चिनिन्छन् ।

पछिल्लो समय नेकपा (एकीकृत समाजवादी)मा क्रियाशील रहेका उनी संविधानसभाको पहिलो कार्यकालमा ऊर्जा राज्यमन्त्री भएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत