एक चौथाइ सांसद पनि बैठकमा उपस्थित नहुँदा आइतबार संसद्को कार्यसूची अवरुद्ध भएको छ । सांसदको गणपूरक संख्या (कोरम) नै नपुग्दा आमाको नामबाट नागरिकता दिने व्यवस्था भएको विधेयक अघि बढ्न नसकेको हो ।
गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव राखेका थिए । तर प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा संसद्को एक चौथाइ सांसद पनि बैठकमा थिएनन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक सुरु हुँदा २ सय २० सांसदले हाजिरी लगाएका थिए । प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिँदा ६८ सांसद मात्रै थिए ।
२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा आइतबार ५३ जना अनुपस्थित थिए । दुई जना निलम्बित छन् । संसद्मा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसदको संख्या कम्तीमा एक चौथाइ अर्थात् ६९ हुनुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९४ मा संसद्को कुनै पनि बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत गर्न नमिल्ने उल्लेख भएको कान्तिपुरमा समाचार छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ