प्युठानको माण्डवी गाउँपालिका–२ रातापानीमा मृत भेटिएका दम्पत्तीको हत्या भएको खुलेको छ ।
प्युठान प्रहरीले परियार दम्पतीमाथि घन प्रहार गरेर हत्या भएको जानकारी दिएको छ । घटना भएको घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा घन बरामद भएको छ । ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीय श्रीमती हुकुमा परियार शनिबार घरमै मृत फेला परेका थिए ।
फागुन ९ गते राति घरमा खान खाएर सुतेका उनीहरू भोलिपल्ट बिहान अबेरसम्म नउठेपछि छिमेकीले हेर्न पुगेका थिए । जहाँ दुवैजनालाई मृत अवस्थामा देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले दम्पत्तीको शरिरमा गहिरो चोट लागेको बताएको छ । थप अनुसन्धानका लागि प्रहरीले भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाएको जानकारी दिएको छ ।
उनीहरूका चार छोराहरू भारतमा रोजगारीका क्रममा छन् । छोरीहरूको भने विवाह भइसकेको प्रहरीले जनाएको छ । हत्या उनकै भतिजाद्वारा भएको खुलेको छ ।
घटना लगत्तै घटनास्थलमा पुगेको प्रहरीले हत्या गरेको आरोपमा रामबहादुर–हुकुमाको भतिज ३४ वर्षीय पङ्कज परियारलाई पक्राउ गरेको छ। दुई दिनदेखि घटनाको अनुसन्धान गर्न घटनास्थल बसेका जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी दिपेश बस्यालका अनुसार, रातापानीमा परियार दम्पती मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।
छिमेकीले टेलिफोनमार्फत जानकारी गराएपछि स्थानीय प्रहरी चौकी तिरामबाट प्रहरी खटिएको थियो। अनुसन्धानको क्रममा टाउकामा घन प्रहार गरेर बीभत्स तरिकाले हत्या गरेको पुष्टि भएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ