मङ्लबार, चैत्र ४, २०८१

रिंकु सदाय मृत्यु प्रकरण थप तीन पञ्चमाथि मुद्दा चल्ने


कान्तिपथ


सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु प्रकरणमा प्रहरीले थप तीन जनामाथि मुद्दा चलाउने भएको छ ।

पीडित परिवारले दिएको किटानी जाहेरी बाहेकका आठ जनालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको थियो । तीमध्ये तीन जना पञ्चायतमा संलग्न रहेको देखिएकाले उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले घटना दबाउन र गाउँमै मिलापत्र गर्न भूमिका खेलेको देखिएकाले भगवतीपुरकै चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दासमाथि अदालतबाट सोमबार पहिलो पटक पाँच दिनको म्याद लिएको जानकारी दिए । उनले अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको अन्य केहि व्यक्तिको संलग्नता नदेखिएपछि छाडिएको बताए ।

गत माघ २७ गते साँझ शौच गर्न निस्केको बेला रिंकुलाई छिमेकी रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले अपहरण गरी सामूहिक बलात्कार गरेका थिए । सो घटना मिलाउन पञ्चायत बसेर गाउँलेले दबाब दिएको केहि घण्टामै रिंकु आफ्नै घरमा मृत फेला परेकी थिइन् ।

प्रहरीले सुरुमा आत्महत्या दुरुत्साहन मुद्दामा छानबिन अगाडी बढाएको थियो । पछि सामूहिक बलात्कार भएको रहस्य खुलेपछि पीडित परिवारले आरोपी तीन जना र पञ्चायत बसेर दबाब दिएका वडा सदस्य नथुनी साहसहित पाँच पञ्चमाथि जाहेरी दिएका छन् ।

उनीहरुविरुद्ध कर्तव्य ज्यान, शरीर बन्धक, जबरजस्ती करणी र आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी गरेको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत