आइतवार, चैत्र १०, २०८१

माओवादी अभियान आज सुनसरीमा


कान्तिपथ


नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी तराई-मधेस जागरण अभियान’ अन्तरगत आज सुनसरीमा अभियान गर्दै छ।

बुधबार बिहान विराटनगरमा पत्रकारसम्मेलन पछि काठमाडौँ गएका पुष्पकमल दाहाल प्रचण्ड साँझ फेरि विराटनगर आएका छन्।

दिलबहादुर रम्तेल स्मृति दिवसअन्तर्गत पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सहभागी हुन बुधबार दिउँसो प्रचण्ड केही घण्टाका लागि काठमाडौँ आएका थिए।

साँझको विमानबाट विराटनगर आएका दाहालले आज सुनसरीका जिल्लाको अभियानमा सहभागी हुने नेकपा माओवादी केन्द्र कोसी प्रदेशका अध्यक्ष हर्क नेम्वाङ (मिक्सो) ले जानकारी दिए।

आज बिहान बर्जु-शुक्रबारे बजारमा बिहान सहिद गेट अवलोकन, उखु किसानसँग छलफलसँगै अभियानको शुभारम्भ हुने जनाइएको छ।

बर्जु ताल निरीक्षणपछि त्यही कोणसभा गर्ने कार्यक्रम गरिनेछ। दिउँसो १ बजेसम्म देवानगन्जमा कार्यकर्तासँग भेटघाटपछि हरिनगरका मुस्लिम समुदायसँग भेट्ने कार्यक्रम रहेको नेम्वाङले जानकारी दिए।

हुलाकी राजमार्गकेन्द्रित अभियानअन्तर्गत सत्तेरझोडामा जनसभा, इनरुवा नगरपालिकाको जाल्पापुरमा नगर अधिवेशन उद्घाटन गर्दै कोसी गाउँपालिकामा जनभेटघाट कार्यक्रम रहेको नेम्वाङले बताए।

भोक्राहा नर्सिङ गाउँपालिकाका कार्यकर्ताहरूसँग भेटघाटलगायत एक दर्जन कार्यक्रमपछि साँझ वराहक्षेत्रको मधुवनमा बस्ने तालिका रहेको उनले जानकारी दिए।

अभियानका क्रममा अध्यक्ष प्रचण्डले स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने निर्णयमा पुगिएको बताउने गरेका छन्। यसले पार्टीलाई आफ्नै वर्ग र समुदायतिर फर्काउने उनको दाबी छ।

प्रचण्डले अब समुदायसँगै बसेर संघर्ष गर्ने र समुदायसँगै समाजवादको अभ्यास गर्ने नीति पार्टीको रहेको कार्यकर्तामाझ भन्ने गरेका छन्। जनतासँग माओवादी तराई-मधेस जागरण अभियान पनि त्यहीभित्रको एउटा अभ्यास भएको प्रचण्डको भनाइ छ।

माओवादी केन्द्रले यही फागुन १२ गते ‘जनतासँग माओवादी तराई-मधेस जागरण अभियान’ झापाको कचनकवलबाट सुरु गरेको हो। फागुन १३ गते मोरङमा सञ्चालित माओवादी अभियान आज सुनसरी आइपुगेको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत