आफूलाई पूर्व राजा ज्ञानेन्द्र वीरविक्रम शाहको भान्जा भन्दै हिमानी ट्रस्टबाट अमेरिका र न्यूजिल्यान्ड पठाइदिने लोभमा पारेर अनुपकुमार सिंहले १७ जनाबाट सवा करोड रुपैयाँभन्दा बढी ठगेको उजुरी परेपछि नेपाल प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
राज केसीसँग सुभद्रा दाहालको भेट करीब दुई वर्षअघि भएको थियो। भेटको माध्यम सामाजिक सञ्जाल टिकटक बनेको थियो। परिचय झांगिंदै गएपछि सुखदुःखका गफ हुन थाले। रुकुम, बाँफीकोटकी सुभद्रा केही वर्षयता ललितपुरको महालक्ष्मी नगरपालिका-४, इमाडोल बस्दै आएकी छन्।
अनुपकुमारले सुभद्राका छोरीहरूलाई ‘ब्रिटिश इन्टरन्याशनल स्कूल अफ वाशिङ्टन’ मा भर्ना गराउने प्रक्रियाका लागि भन्दै उनीहरूको विद्यालयका केही कागजात पनि मगाए।
सुभद्राले गत माघ ८ गते अनुपकुमार सिंह, राज केसी, रामचन्द्र खनाल, पैसा हाल्न बैक खाता उपलब्ध गराउनेहरू दीपकराज खनाल, अभिषेक खनाल, सचिन व्यञ्जनकार र किरणसिंह कार्की गरी ७ जनाविरुद्ध जिल्ला प्रहरी परिसर, ललितपुरमा जाहेरी दिएकी छन्।
प्रहरीले फागुन ९ गते अनुपकुमार र दीपकराजलाई, फागुन ११ मा सचिनलाई र फागुन १२ मा राजलाई पक्राउ गरेको छ।
दीपकराज अधिवक्ता हुन्। अन्य आरोपी फरार रहेको जिल्ला प्रहरी कार्यालय, ललितपुरका एसएसपी श्याम अधिकारीले बताए।
उनीहरूले राजपरिवारसँग सम्बन्ध रहेको भन्दै ठगी गरे पनि अनुसन्धानमा राजपरिवारसँग कुनै कनेक्सन देखिएको छैन, एसएसपी श्यामले भने ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ