शुक्रबार, कार्तिक २१, २०८२

आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै


गणेश विक


काठमाडौं । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ ।

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डासहित हरेक वर्ष संसारभर विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ ।

नेपालको संविधानले कुनैपनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ ।

सन १९०८ मो न्यूयोर्क सिटीमा १५ हजार महिलाले सामूहिक रुपमा नै काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित वृहत र्‍यालीमार्फत महिला आन्दोलन गरेका थिए । आन्दोलनको माग सम्बोधनसहित त्यसको एक वर्षपछि अमेरिकाको तत्कालीन समाजवादी पार्टीले पहिलो पटक अमेरिकामा राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो ।

तर, अमेरिकामा मात्रै होइन, यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने भन्दै सुरुमा नारीवादी नेतृ क्लारा जेट्किनले बहस सुरु गरिन् । सन १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले यो विषयलाई औपचारिक रुपमा प्रवेश गराइन्, जुन सम्मेलनमा १७ देशका १०० भन्दा बढी महिला नेतृहरुको सहभागीता रहेको थियो । जेट्किनको यो प्रस्तावमा सहभागी सबै राष्ट्रका महिलाहरुले सहमति जनाए ।

सो सम्मेलनपछि पहिलो पटक सन १९११ मा अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा औपचारिक रुपमा नै मनाउन सुरु गरियो । क्रमश: अन्य देशले पनि यस दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउन सुरु गरे । यो आ-आफनो देशअनुसार मनाउने चलन क्रमश: बढ्दै गयो ।

सन १९१७ मा भएको युद्धकालीन आन्दोलनमा रुसी महिलाहरूले ‘रोटी र शान्ति’ को माग नगर्दासम्म यसले औपचारिकता पाएको थिएन । सो आन्दोलनले महिला आन्दोलनलाई झनै उचाइमा लगिदियो । सो महिला आन्दोलनको चार दिनपछि रुसका तत्कालीन सम्राट पद त्याग्न बाध्य भए र त्यहाँको अस्थायी सरकारले महिलालाई मतदानको अधिकार दियो ।

संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि मात्र बल्ल यसले विश्वभरका लागि आधिकारिक मान्यता पायो र राष्ट्र संघका सबै सदस्यले यसलाई संसारभर मनाउन थाले ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत