सोमवार, बैशाख ९, २०८२

कुँवरको काँधमा अब एक दिन फुली : पर्सिदेखि कसको हालीमुहाली ?


देव चौलागाईं


सरकारले ३१ औं प्रहरी महानिरीक्षक नियुक्त गर्न अब एक दिन मात्र बाँकी छ । चैत ४ मा आईजीपी मात्र नभएर प्रहरी नेतृत्व तहमै भारी भ्याकुम पैदा हुँदैछ। सेवा अवधीको ३० वर्षे समय पूरा गरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरसहित पाँच एआईजी र तीन डीआईजीले चैत ४ गते मध्यरातबाट अवकाश लिंदैछन् । उनीहरु २०५१ चैत ५ गते निरीक्षकमा भर्ना भएका हुन् ।

चैत ४ मा आइजी कुँवरसहित एआइजीहरु अपराध अनुसन्धान विभागका प्रमुख कुवेर कडायत, कार्य विभागका प्रमुख बुद्धिराज गुरुङ, मानवस्रोत विभाग प्रमुख दुर्गा सिंह, प्रशासन विभाग प्रमुख टेकप्रसाद राई र प्रदेश समन्वय विभाग प्रमुख जनक भट्टराई एकसाथ बिदा हुन्छन् । डीआईजीहरु गण्डकी प्रदेश प्रमुख भोलाबहादुर रावल र सुदूरपश्चिम प्रदेश प्रमुख गणेश चन्द पनि अवकास हुँदैछन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख दीपक थापा, प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ मध्येबाट एकजनाले अब प्रहरीको नेतृत्व गर्ने छन्।

तीनै जनाले कुँवरकै टोलीसँग २०५१ चैतमा प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गर्दा वैकल्पिकमा नाम निकालेका थिए। उनीहरू २०५२ भदौ ११ गते प्रहरी निरीक्षकमा नियुक्त भएका हुन्। प्रहरीमा ३० वर्षे हटाउने सहितका व्यवस्था ल्याउने गरी विधेयक संसदमा पेस भइसकेको छ। यदि उनीहरूको कार्यकालभित्रै विधेयक पारित भएर नयाँ ऐन कार्यान्वयनमा आएमा उनीहरू तीनैजनाको कार्यकाल थपिन सक्छ।

आईजीपी नियुक्तिको मिति नजिकिँदै जाँदा सबैभन्दा बलियो देखिएका छन् दीपक थापा। थापा २०७९ चैत ६ गते तेस्रो नम्बरमा रहँदै एआईजीमा बढुवा भएका थिए। उनीभन्दा अगाडी आईजीपी कुँवर र टेकप्रसाद राई थिए। दुवैजना अवकाश हुन लागेका छन्।

थापाले इन्स्पेक्टर दर्जादेखि एआईजीसम्म २० भन्दा बढी युनिटको नेतृत्व गरिसकेका छन्। नेतृत्व क्षमताको आधारमा सबभन्दा बढी युनिट कमाण्ड गर्ने अफिसर को रूपमा उनी परिचित छन्। थापा व्यापक नेतृत्व अनुभव, कमाण्ड कन्ट्रोलको उत्कृष्ट ट्र्याक रेकर्ड, तथा प्रहरी संगठनभित्रको प्रभावशाली छवि भएका अफिसर हुन्। उनी नेतृत्व गरेको कुनै पनि युनिटमा महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन्, जसका कारण आईजीपी पदका लागि बलियो उम्मेदवारका रूपमा हेरिएको छ।

एआईजी दर्जामा उनले उपत्यका प्रहरी कार्यालयको प्रमुख, प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग प्रमुख र हाल केन्द्रीय अनुसन्धान ब्युरोको नेतृत्व सम्हालिरहेका छन्। डीआईजी रहँदा बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी प्रधान कार्यालयको प्रबन्ध विभाग प्रमुख र एसएसपीमा, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखा प्रमुखका साथै एसपी पदमा बहाल रहँदा जिल्ला प्रहरी कार्यालय, चितवनको प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बुटवल र कोहलपुर सम्पर्क कार्यालय प्रमुखको रुपमा काम गरेका छन् ।

डीएसपी पदमा जिल्ला प्रहरी कार्यालय, खोटाङको प्रमुख, काठमाडौं प्रहरी वृत्त महाराजगन्ज प्रमुख, रुपन्देही इलाका प्रहरी कार्यालय प्रमुख, तत्कालीन प्रधानमन्त्री तथा हाल नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईको निजी सुरक्षा अधिकृत, इन्स्पेक्टर पदमा नेपाल प्रहरी विद्यालयका साँगा (काभ्रे), गरुडा (रौतहट) र धनगढी (कैलाली) समादेशक र ११ वर्ष इन्स्पेक्टर दर्जामा रहँदा २० फरक युनिटको नेतृत्व गरिसकेका अफिसर हुन्।

थापाभन्दा एक सातापछि चैत १३ गते गिरी र तामाङ एआईजीमा बढुवा सिफारिस भएका थिए। एआईजी सुदीप गिरी र टेकबहादुर तामाङ पनि प्रहरी नेतृत्वमा पुग्ने कसरतमा छन्। गिरी खासगरी कांग्रेस नेताहरूलाई रिझाएर आईजीपी बन्ने दाउमा छन्। उनी पुर्व प्रधानन्यायाधिशका छोरा हुन् । कांग्रेसनिकट मानिने गिरीलाई यसअघि डीआईजीमा बढुवा गर्दा अगाडि ल्याइएको थियो। एआईजीमा पनि उनले आफ्नो वरीयता कायम राखे।

गिरीले प्रहरी उपरीक्षक (एसपी) तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को रूपमा विभिन्न महत्त्वपूर्ण कार्यालयहरूमा नेतृत्व सम्हालेका छन्, जसमध्ये कालिमाटी वृत्त, जिल्ला प्रहरी कार्यालय रसुवा, पर्सा, कैलाली, र काठमाडौं परिसर उल्लेखनीय छन्। साथै, उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) मा समेत जिम्मेवारी बहन गरिसकेका छन्। प्रहरी निरीक्षकदेखि डीआईजीसम्मको कार्यकालमा विशेष ब्युरोमा १३ वर्ष काम गरेका गिरी प्रहरी मुख्यालय (हेडक्वार्टर) द्वारा सञ्चालित गोप्य तथा महत्वपूर्ण कारबाहीका नेतृत्वकर्ता समेत छन्।

तामाङलाई आईजीपी बनाउन झापाका एमाले नेतादेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई पनि लागि परेका छन्। तामाङको अनुभव प्रहरी निरीक्षक पदमा हुँदा इलाका प्रहरी कार्यालय फापरवारी, गजुरी, लैनचौर वृत्त प्रमुख र वडा प्रहरी कार्यालय सानेपा प्रमुख भएका छन् । डीएसपी पदमा रहँदा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र खोटाङ प्रमुख, इलाका प्रहरी कार्यालय धरान प्रमुख र कालीमाटी प्रहरी वृत्त प्रमुख भएका थिए । एसपी पदमा कार्यरत हुँदा जिल्ला प्रहरी कार्यालय बाँके प्रमुख र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लामो समय सेवा गर्दै एसएसपी पदमा बढुवा भएपछि भने नेपाल प्रहरी तालिम केन्द्र, विराटनगर प्रमुख भए।

साथै डीआईजी पदमा हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रहरी इन्चार्ज र हाल एआईजी रहँदा अपराध अनुसन्धान विभाग प्रमुख र हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख छन् ।

भोलि सोमबार बस्ने मन्त्रिपरिषद्को बैठक मार्फत सरकारले आईजीपी नियुक्त गर्ने तयारी गरेको छ। सरकारले तीन एआईजीको कार्य सम्पादन मूल्याङ्कन फाइल मगाएर अध्ययन गरिरहेको छ, जसमा उनीहरूको विगतदेखि वर्तमानसम्मको कार्यशैली तथा क्षमताको विश्लेषण गरिँदै छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत