सोमवार, बैशाख ९, २०८२
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • यस्तो छ आईजीपी थापाको पृष्ठभूमि : संसदबाट विधेयक पारित भए कार्यकाल ६ महिना थपिने

यस्तो छ आईजीपी थापाको पृष्ठभूमि : संसदबाट विधेयक पारित भए कार्यकाल ६ महिना थपिने


देव चौलागाईं


सरकारले प्रहरी महानिरीक्षक (आईजी)मा एआईजी दिपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आईजी बनाउने निर्णय गरेको हो । सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापाले आईजीको दौडमा बाजी मारेका हुन् ।

प्रहरी सेवामा प्रवेश गरेपछि उनले इलाका प्रहरी कार्यालय, साँगा, बुटवल र रौतहटको गरुढामा नेतृत्व गर्ने अवसर पाएका छन् ।

प्रहरी वृत्त, महाराजगञ्जको पनि प्रमुख रही सकेका छन् भने उनले जिल्ला प्रहरी कार्यालय, रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनको पनि कमाण्ड गरेका छन् ।

बुटवल तालिम केन्द्र र प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा समेत काम गरिसकेका थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत र बुटवल कार्यालयको प्रमुख भएर समेत काम गरेका छन् ।

एसएसपी छँदा उनले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरेका छन् भने डीआईजी छँदा बागमती प्रदेश प्रहरीको नेतृत्व गरे । पछि प्रबन्ध निर्देशनालय, प्रशासन विभाग, उपत्यका प्रहरी कार्यालयको समेत उनले नेतृत्व गरे ।

३० वर्षे सेवा अवधि नहटे थापा ६ महिनापछि अवकाशमा जानेछन् । संसद्‌मा प्रहरी ऐनको प्रस्तावित विधेयक दर्ता छ । यो अवधिमा विधेयक पारित भए उनले थप ६ महिना प्रहरीको नेतृत्व गर्न पाउनेछन् ।

२०५२ भदौ १९ गते नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जाबाट प्रहरी जीवन शुरु गरेका थापा भक्तपुर जिल्लाका बासिन्दा हुन् । भक्तपुरबाट प्रहरीको आईजीपी हुने थापा दोस्रो व्यक्ति हुन् । यसअघि सोही जिल्लाबाट शैलेश थापा क्षेत्रीले आईजीपीको जिम्मेवारी बहन गरिसकेका छन् ।

थापा २०२८ साल मंसिर ८ गते भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ सिपाडोलमा जन्मिएका हुन् । उनले कानूनमा एलएलबी, राजनीतिशास्त्रमा स्नातकोत्तर, जनप्रशासनमा एमपीएको अध्ययन गरेका छन् ।

उनी बेरुजु फर्छ्योट कार्यमा प्रभावकारी भूमिका निर्वाह गरेकाले २०७५, ०७६, ०७७ र ०७८ सालमा प्रशंसापत्रसहित पुरस्कृत अधिकृत हुन् । प्रहरी कार्य (पुलिसिङ), मानव स्रोत व्यवस्थापन, अपराध अनुसन्धान र व्यवस्थापनसहित विपद् व्यवस्थापनमा उनको विशेष अनुभव रहेको मानिन्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत