गजामा इसराइलको आक्रमणमा परी हमासका शीर्ष नेताको मृत्यु भएको छ। आइतबार गजाको दक्षिणी भूभाग खान युनिसमा इसराइलले गरेको हवाई आक्रमणमा हमासका राजनीतिक नेता सलाह अल बर्दाविल मारिएका हुन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार हवाई आक्रमणमा नेता बर्दाविलसहित उनकी श्रीमती पनि मारिएकी छिन्। बर्दविल राजनीति समितिको शीर्षमध्येका एक सदस्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्याहरुले जनाएका छन्। इसराइली आक्रमण परी उनको मृत्यु भएको हमासका अधिकारीहरूले पनि पुष्टी गरेका छन्।
हमासका प्रेस सल्लाहकार तहिर अल नोनोले फेसबुक पेजमा एक पोस्ट मार्फत बर्दाविलको मृत्युमा शोक व्यक्त गरेको रोयटर्सले जनाएको छ।
गजामा दुई महिनापछि इसराइलले ठूलो परिमाणमा आक्रमण गरेको हो। युद्धविरामबारे इसराइल र हमासबीच मतैक्य नभएपछि इसराइलले गजामा भीषण आक्रमण थालेको हो। उसले हमासविरूद्धको सैन्य कारबाही भनेर आकाश र जमिनबाट आक्रमण व्यापक बनाएको हो।
गत मंगलबारदेखि तीव्र आक्रमणमा सयौं मानिसहरूले ज्यान गुमाएका छन्। मंगलबार एकैदिन गजामा चार सयभन्दा बढीको मृत्यु भएको थियो। आइतबार बिहान गजाको उत्तरी भूभागमा विस्फोटका ठूला-ठूला आवाज सुनिएको थियो। इसराइली युद्ध विमानहरूले विभिन्न ठाउँमा बम खसालेका थिए। त्यस्ता आवाजहरू लगातार एक घन्टाभन्दा बढी समय गुन्जिरहेको भनेर एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ