गत २५ फागुनमा राजावादीहरूले राजधानीमा शक्ति प्रदर्शन गरेपछि समाजवादी मोर्चाले पनि गणतन्त्रको पक्षमा र सरकारले गरेका नराम्रा कामको भण्डाफोर गर्ने भएको छ । १५ चैतमा पनि समाजवादी मोर्चा र राजावादी दुर्गा प्रसाईं आमनेसामने हुने भएका छन् ।
१ लाखभन्दा बढी जनमास उतार्ने तयारी भइरहेको मोर्चाका नेता खड्कबहादुर विश्वकर्माले बताए । उनले भने, ‘१५ चैतको जनप्रदर्शनमा १ लाखभन्दा बढी जनमास सहभागी गराउँछौँ । यो सरकारले गरेका जनविरोधी, अनियमितताका बारेमा जनतालाई जानकारी दिन्छौँ ।’ मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टी (नेसपा) छन् ।
मोर्चाले भनेको छ, ‘सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीव्र रूपमा बढ्दै गएको छ । यसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको छ ।’
१५ चैतमा हुने मोर्चाको सभालाई चार दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी भएको हमालले बताए । उनले भने, ‘मोर्चाका चारै दलका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुन्छ । लाखौँ जनमास यो सरकारविरुद्ध सडकमा आउनेछ । सरकारले गरेको अनियमित, सुशासन स्थापित गर्न नसकेको, रोजगारी दिन नसकेको, भ्रष्टहरूको संरक्षण गरेको कुराको भण्डाफोर गछौँ ।’
सडकमा आन्दोलन सुरु गरेको मोर्चालाई सोमबार विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि थप अर्को विषय थपिएको छ, जुन विषय अब संसददेखि सडकसम्म विपक्षीका लागि प्रमुख मुद्दा बनेको छ ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलहरूले संसदका दुवै सदनको बैठक अवरोध गरेका छन् ।
राजसंस्था पुनःस्थापनाको मागसहित स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंले पनि यही १५ चैतमा जनप्रदर्शन गर्दै छन् । सहभागीलाई राजेन्द्र लिङ्देन, कमल थापा, जगमान गुरुङ, नवराज सुवेदी, स्वागत नेपाल, केशर विष्ट, ध्रुवलाल श्रेष्ठ र आफूले सम्बोधन गर्ने प्रसाईंले बताए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ