सोमवार, बैशाख ९, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • फेसबुकको सहयोग नपाउँदा दुर्गा प्रसाईं पक्राउ गर्न नसकिएको प्रहरीको दाबी

फेसबुकको सहयोग नपाउँदा दुर्गा प्रसाईं पक्राउ गर्न नसकिएको प्रहरीको दाबी


गणेश विक


काठमाडौं । तीनकुनेमा शुक्रबार सम्पन्न राजावादी प्रदर्शनका मुख्य आयोजक तथा कमान्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्न फेसबुकको सहकार्य नपुग्दा चुनौती थपिएको प्रहरीले जनाएको छ।

आन्दोलनपछि भूमिगत भएका प्रसाईं सामाजिक सञ्जालमार्फत निरन्तर सक्रिय रहे पनि प्रविधिगत सीमितताका कारण उनलाई पत्ता लगाउन समस्या भइरहेको प्रहरीको दाबी छ।

भूमिगत भए पनि सामाजिक सञ्जालमा सक्रिय
शुक्रबार काठमाडौंको तीनकुनेमा राजसंस्थाको समर्थनमा आयोजित प्रदर्शनमा नेतृत्व दिइरहेका प्रसाईं आन्दोलनपछि ललितपुरको इमाडोल पुगेका थिए।

त्यहाँबाट भूमिगत भए पनि उनी फेसबुक भिडियोमार्फत आफ्ना समर्थकहरूलाई सम्बोधन गरिरहेका छन्। आइतबार मात्र उनले एक भिडियो पोस्ट गर्दै आफू काठमाडौंकै एक मन्दिरमा सुरक्षित रूपमा बसेको दाबी गरेका थिए।

फेसबुक ट्रयाक गर्न नसक्दा समस्या

नेपाल प्रहरीका अनुसार प्रसाईंको मोबाइल स्विच अफ छ । जसका कारण उनलाई नियमित निगरानी गर्न कठिन भइरहेको छ। सामाजिक सञ्जालका आधारमा लोकेसन पत्ता लगाउने प्रयास गरे पनि फेसबुक कम्पनी (मेटा) को प्रत्यक्ष सहयोग बिना यो सम्भव नभएको बताइएको छ।

हेर्नुहाेस् भिडियाे

https://www.facebook.com/share/v/19TB3ohwD2

“फेसबुकको डेटा ट्रयाक गर्न मेटा कम्पनीको सहमति आवश्यक पर्छ,” एक प्रहरी अधिकारीले भने, “नेपालमा मेटाको कार्यालय नभएकाले सोधपुछ गर्न थप समय लागिरहेको छ।”

प्रहरीका अनुसार अन्तर्राष्ट्रिय कानुनी प्रक्रियाअनुसार डिजिटल डाटाका लागि सम्बन्धित कम्पनीको सहकार्य अनिवार्य हुन्छ।

फेसबुकबाट आवश्यक विवरण प्राप्त गर्न ढिलाइ हुँदा प्रसाईंको ठेगाना पहिचान गर्न र पक्राउ प्रक्रिया अघि बढाउन समस्या भइरहेको हो।

आन्दोलन हिंसात्मक बनाए

शुक्रबार तीनकुनेमा आयोजित प्रदर्शनमा प्रसाईंले आफ्नै गाडी चलाएर निषेधित क्षेत्र पार गरेको र प्रहरीलाई पेल्दै अपशब्द प्रयोग गरेको भिडियोहरू सार्वजनिक भएका छन्।

हेर्नुहाेस् भिडियाे

https://www.facebook.com/share/v/1BhYt1tsxz

प्रहरीका अनुसार आन्दोलनलाई उग्र बनाउन उनले योजनाबद्ध रूपमा उत्तेजक गतिविधि गरेका थिए।

प्रहरीका एक अधिकारीले भने, “उनको उत्तेजक भाषणकै कारण आन्दोलनकारीहरूले तोडफोड, आगजनी र प्रहरीमाथि आक्रमण गरे। यो योजनाबद्ध रूपमा गराइएको देखिन्छ।”

पक्राउका लागि विशेष टोली परिचालित

शुक्रबार साँझदेखि नै प्रहरीको विशेष टोली उनलाई पक्रने प्रयासमा जुटिरहेको छ। काठमाडौं उपत्यकाभित्रै उनी लुकेर बसेको प्रहरीको अनुमान छ।

प्रहरी स्रोतका अनुसार, यदि सामाजिक सञ्जालबाट आवश्यक डेटा प्राप्त भयो भने उनको लोकेसन पत्ता लगाउन सहज हुनेछ। सुरक्षा निकायहरूले प्रसाईंलाई पक्राउ गर्न नेपाल सरकारसँग प्रविधिगत सहयोगका लागि थप पहल गरिरहेको जनाइएको छ।

“प्रसाईं जहाँ भए पनि पक्राउ गरेर कानुनी कारबाही गरिनेछ,” प्रहरी स्रोतको भनाइ छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत