शनिबार, बैशाख १३, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • यि हुन् प्राधानाध्यापकको ‘चरित्रहत्या’ गर्ने जनसंवाद डटकमका प्रधानसम्पादक ‘शिक्षक पत्रकार’..!

यि हुन् प्राधानाध्यापकको ‘चरित्रहत्या’ गर्ने जनसंवाद डटकमका प्रधानसम्पादक ‘शिक्षक पत्रकार’..!


गणेश विक


काठमाडौं । रमन म्याग्सेसे पुरस्कार विजेता भारतीय पत्रकार रविश कुमारले भनेका थिए,‘लोकतन्त्रमा सुचना र बुझाईको ठूलो भूमिका हुन्छ । सुचना र समाचार झूट भयो भने तपाइँ नागरिकको भूमिका निभाउन सक्नु हुन्न ।’

भारतीय समाजमा बढ्दो फेक न्युज र त्यसले पारेको प्रभावबारे तिखो टिप्पणी गर्दै आएका रविश कुमारले भने जस्तै नेपालमा एक अनलाइनबाट सुनियोजित रुपमा फैलाइएको झूटो खबरका कारण एक शिक्षिकालाई आफ्नो पेशागत भूमिका निभाउन कठिन भएको छ । उनको व्यावसायीक जिवन नै धराप बनेको छ ।

ललितपुरको बागमती गाउँपालिका ५ इकुडोलमा अवस्थित शारदा शिक्षा सदनमा प्राधानाध्यापकको रुपमा कार्यरत छिन् सरिता लामा (नाम परिवर्तन) । शिक्षक सेवा आयोग पास गरेर लामो संघर्षपछि स्थायी सरकारी जागिरमा नियुक्तभएदेखि पहिलो नियुक्ती नै उनको शारदा शिक्षा सदनमा हुन पुग्यो ।

उनी प्रधानाध्यापक नियुक्त भएर गएकै बेला स्कुलमा शिक्षक पदमा करारमा कार्यरत थिए—बाबुलाल स्याङ्तान । स्कुलकै गेटबाट ५ मिटर अगाडी भट्टी पसल समेत सञ्चालन गर्दै आएका बाबुलाल स्याङ्तानले स्कुलबाट एक लाख ५० हजार रुपैयाँ पेस्की लिएका थिए ।

२०८१ मंसिर ०२ गते बाबुलालले शिक्षक पदबाट राजिनामा दिए । उनको तलबबाटै बाँकी भएको पेश्की समेत काट्ने निर्णय विद्यालय व्यवस्थापन समितिले गरेपछि विद्यालयले सोही अनुसार बाबुलालको तलबबाटै पेश्की काट्याे । ‘त्यसपछि उहाँले मलाई किन पेश्की काटेको तुरुन्त मेरो खातामा तलब हाल्दिनुस् भनेर वादविवाद गर्नुभयो,’ सरिता भन्छिन्,‘स्कुल व्यवस्थापन समितिले गरेको निर्णयमा मैले केही गर्न सक्ने अवस्था नै रहँदैन ।’

बाबुलाल शिक्षक मात्रै थिएनन् उनको नाममा एउटा अनलाइन न्युज पोर्टल पनि दर्ता रहेछ । प्रेस काउन्सिल नेपालको रेकर्ड अनुसार उनले शिक्षक पेशाबाट राजिनामा दिनुभन्दा ४ महिनाअघि अर्थात २०८१ साउन १० गते जनसंवाद डटकम नामक अनलाइन सुचिकरण गराएका देखिन्छ ।

‘सोही अनलाइनमा भ्रामक र अपत्ति जनक शिर्षक राख्दै म र सहायक प्राध्यानाध्यापकबीच प्रेम सम्बन्ध रहेको चर्चा छ भनि मेरो चरित्र हत्या गरियो,’ सरिता भन्छिन्,‘फोटोसप मार्फत प्रविधिको दुरुपयोग गरि हाम्रो तस्विर समेत जोडेर भ्रम फैलाइयो । सो समाचार केही समयमै बागमति गाउँपालिका भर भाइरल भएपछि मेरो र सहायक प्राधानाध्यापकको पारिवारिक जीवनमा समेत विचलन ल्याउने कोशिस भयो । मेरो श्रीमान र छोरासहितको परिवार सम्हालेर बसेकी मलाई अनावश्यक लान्छाना लगाइएपछि म विचलित भएँ ।’

सहायक प्राधानाध्यापक राजु दर्लामीका अनुसार स्कुलका शिक्षकहरुलाई समेत अनावश्यक लाञ्छना लगाइएपछि कानुनी उपचारका लागि यो मुद्दा प्रेस काउन्सिल र साइबर ब्युरोसम्म पुगेको छ ।
‘म यही स्कुल भएको गाउँपालिकाको स्थानिय पनि हुँ । मेरो पनि श्रीमती र परिवार यहीँ छ । पत्रकारीताको आवरणमा मेरो बारेमा पनि झूटो खबर फैलिएपछि मैले जाने कानुनी बाटो खोजेँ र अहिले कानुनी प्रक्रियामै छु,’ राजु भन्छन्,‘यो खबरका कारण मेरो समाजमा विभाजनको अवस्था श्रृजना भएको छ ।’

२०८१ फागुन २७ गते प्रकाशित समाचार अहिले जनसंवाद डटकममा भेटिँदैन । उनले यसअघि प्रकाशन गरेको समाचार हटाएर क्षमायाचना गरेका छन् । ‘गत फागुन २७ गते श्री शारदा शिक्षा सदन माविको सम्बन्धमा प्रकाशित समाचार सामग्री असावधानीबस पोष्ट हुन गएको हुँदा उक्त सामग्रीलाई हटाइएको छ । यसबाट सम्बन्धित व्यक्ति वा संस्थामा पर्न गएको असरप्रति क्षमायाचना गर्दछौँ । जनसंवाद डटकम सत्यतथ्यका पक्षमा सधैँ दृढ रहन्छ ,’ सम्पादक भनि हटाइएको समाचारभित्र लेखिएको छ ।

नेपाल प्रहरी साइबर अनुसन्धान ब्युरोका प्रहरी उपरिक्षक दिपकराज अवस्थी यो घटनाको पीडितको जाहेरी आएको बताउँछन् । तर, उक्त जाहेरी सरकारी वकिल कार्यालयको रायको आधारमा मात्रै अगाडी बढ्ने उनको भनाई छ । यता प्रेस काउन्सिलले भने वैयक्तिक गोपनियताबारेको सामग्री तत्कालै हटाउन निर्देशन दिएको थियो । पीडित सरिताले प्रेस काउनिसलबाट आचारसंहिता अनुसार महिलाको चरित्र हत्या गरेको अभियोगमा उनीमाथि थप कारबाही गर्नुपर्ने भन्दै अर्को उजुरी पनि दिएको बताइन् ।

समाचार हटाएर माफी माग्ने जनसंवाद डटकमका प्रधानसम्पादक बताउने बाबुलाल स्याङ्तानले आफूले गल्ती गरेको बताए ।

बाबुलालसँग संवाद : ‘गल्ती भयो समाचार हटाएर, आम माफी मागेको छु’

तपाईं सारदा शिक्षा सदनको पूर्वशिक्षक हुनुहुँदो रहेछ ।

हजुर हो भन्नुस् न ।

तपाईंले विद्यालयबाट पेश्की लिनु भएको रहेछ नी ? पेश्की लिनु भएको विषयमा स्पष्ट पार्नुहोला ?

पेश्की एक लाख ५० हजार रुपैयाँ लिएको हुँ । घटाउँदै घटाउँदै तलब काट्दै आयो । सुन्तली मिस हुँदा एक लाख आठ हजार रुपैयाँमा आइपुगेको थियो । त्यसपछि उहाँको कार्यकाल शुरु भयो । त्यसपछि २५ हजार रुपैयाँ काटेर ८३ हजार रुपैयाँमा आयो । त्यसपछि मैले एक रुपैयाँ पनि तिरेको छैन । मैले कार्तिक महिनाको एक महिनाको तलब पनि लिएको छैन । बागमती गाउँपालिकासँग समन्वय गरेर एक गैरसरकारी संस्था मार्फत पढाएको ट्युसन फि साढे ८ हजार रुपैयाँ मैले लिएको छैन । उहाँहरुले तलब काट्दा मलाई जानकारी दिनु भएन । मलाई जानकारी दिनुपर्थ्यो । मलाई जानकारी हुनुपर्थ्यो भन्ने मेरो मनसाय हो । अब बाँकी रकम पनि तिर्छु हजुर ।

तपाइले नै भनेअनुसार विद्यालयलाई तपाइँले तिर्नुपर्ने खालको लेनदेन रहेछ । विवादको समाचारको नाममा अर्को पक्षको हेडमास्टर र सहायक हेडमास्टरको फोटो जोडेर प्रेम सम्बन्ध छ भनेर ठहर गर्न मिल्छ ?

अँ त्यो कुरामा मैले सच्याइसकेको छु । हिजो म प्रेस काउन्सिलमा थिएँ । त्यो काम सबै सल्टिसकेको छ ।

तपाईं शिक्षक पेशा छोडेर भर्खरै पत्रकारीतामा आउनु भएको रहेछ । एउटा गलत समाचारले मान्छेको जीवनमा के कस्तो प्रभाव पर्छ । हजारौँ मान्छेमा कस्तो सन्देश जानसक्छ भन्ने हेक्का तपाईंलाई भएन ?

मैले आफूले गल्ती रियालाइज गरेर पनि मिलाइसकेको कुरा हो । यो कुरामा चाहीँ लेखाइको क्रममा गल्ती भयो । आफैले स्विकार गरिसकेको छु । त्यही अनुसार कामकारबाही पनि गरेको छु ।
तपाईंले उत्तेजक थमनेल बनाउनका लागि विद्यालयका प्रअ र सहायक प्रअको तस्विर पनि जोड्नु भएको रहेछ ।

प्रविधिको दुरुपयोग गरेको अभियोगमा तपाईंमाथि साइबर अपराधमा उजुरी परेको रहेछ नी ?

थाहा नभई पोष्ट हुन गएछ सर । मैले असावधानीबस पोस्ट हुन गएछ भनेर त्यहाँ माफी मागेको छु र क्षमायाचना गरेको छु ।

प्रेस काउन्सिलबाट जारी भएको आचारसंहिता पढेर गर्नुभएको हो ?

यो भूलबस भयो । मान्छेबाट जन्मेर आएदेखि बच्चैबाट सबैकुरामा पोख्त छ भन्ने हुँदैन सर ।

यो घटना एउटा मान्छेले गरेको गल्तीको रुपमा लिन कसरी मिल्छ र । तपाईं त जनसंवाद डटकमको प्रधानसम्पादक हुनुहुँदो रहेछ । समाचार प्रकाशन हुनुअघि विभिन्न चरणको क्रस चेक र भेरिफाइ हुनुपर्छ । तपाईंको संचार माध्यमले एक जना महिलाको चरित्र हत्या गर्दा एकजनाको गल्ती भनेर सामान्यकरण गर्न मिल्छ र ?

सम्बन्धित ठाउँमा गएर भुलबस भयो भनेर क्षमायाचना गरेको छु । न्युज जति पनि आएको छ त्यसलाई सच्याएर आममाफी पनि गरेको छु । सबै हटाएको छु । मैले आम माफी मागेको छु ।

तपाईंले स्कुल गेट अगाडी भट्टी पसल पनि चलाउनुहुन्छ ?

भट्टी पसल भन्दापनि किराना पसल हो । बेलुका बेलुका एकदुई गिलास बेच्ने गरेको छु ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत