तराई-मधेशकेन्द्रित दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एकीकरणको अन्तिम कसरतमा जुटेका छन् । एकता प्रक्रियालाई टुंग्याउन दुवै पक्षका नेताहरू पछिल्ला दिनमा सघन छलफलमा छन् ।
दुवै पार्टीलाई एकीकरण गरेर राष्ट्रिय मुद्दा र जनसवाललाई सशक्त रूपमा उठाउने गरी एकताका लागि पहल गरिएको नेताहरू बताउँछन् । दुवै पार्टीले एकीकरणका लागि गठन गरेका कार्यदलले विभिन्न चरणमा बैठक बसेर सहमतिको बिन्दु पहिल्याउन कसरत गरिरहेका छन् । कार्यदल र शीर्ष नेतृत्वतहमा चरणवद्ध छलफल भइरहेको नेताहरूले बताएका छन् ।
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पार्टी एकीकरणलाई अन्तिम रूप दिन आन्तरिक र बहुपक्षीय छलफल तीव्र रूपमा भइरहेको र आगामी १५ वैशाखभित्रै पार्टी एकीकरणको घोषणा गर्नेगरी संवादमा भइरहेको बताए ।
संयोजक खानका अनुसार वैशाखको पहिलो सातामा आ-आफ्नो केन्द्रीय समितिबाट एकीकृत विधान पारित गरिने र दोस्रो साता पार्टी एकीकरणको घोषणा गरिनेछ । पार्टी एकीकरणका लागि दुई महिनायता नेताहरूले कसरत गरिरहेका छन् । दुवै दलले कार्यदल गठन गरेपछि यो प्रक्रियाले तिब्रता पाएको छ ।
एकीकरणपछि बन्ने पार्टीको अध्यक्षमा हालको जनमत पार्टीका अध्यक्ष सिके राउत र सहअध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ रहने नेताहरूले दाबी गर्छन् ।
जनमत र नाउपाले २०७९ को प्रतिनिधिसभा र प्रदेशसभामा पहिलोपटक भाग लिएका थिए । हाल संसदमा जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ