काठमाडौं । आसरा सुधार केन्द्र रानीबारीकी नवनियुक्त अध्यक्ष रूपा थापालाई आज एक आयोजित कार्यक्रमबीच सोही केन्द्रका पदाधिकारीहरूले केन्द्रको कार्यालय रानीबारीमा स्वागत गरेकाे छ ।
उक्त अवसरमा नवनियुक्त अध्यक्ष रूपा थापाले आसरा सुधार केन्द्रकी निवर्तमान अध्यक्ष लक्ष्मी कुँवरलाई दोसल्ला ओढाई बिदाइ गर्नुका साथै उनलाई सम्मानपत्र तथा आसरा गतिविधिलाई समेटेर तयार पारिएको फोटो एल्बमसहितको मायाँको चिनो प्रदान गरेकाे हाे ।
साथै सोही अवसरमा नव वर्ष २०८२ सालको शुभकामना आदान प्रदान कार्यक्रम समेत सम्पन्न भएको छ ।
कार्यक्रममा केन्द्रकी नवनियुक्त अध्यक्ष थापाले केन्द्रमा आयोजना गरिएको आन्तरिक खेलकुद प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने उपचाररत सदस्यहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
सो अवसरमा केन्द्रकी नवनियुक्त अध्यक्ष थापाले केन्द्रले आफ्नो स्थापना कालदेखि नै सुधारात्मक उपायहरूको अवलम्बन गरी सामाजिक विसंगतीमा फसेका युवापिढीलाई सही बाटोमा ल्याई राष्ट्रको असल एवम् सक्षम नागरिकको रूपमा पुनर्स्थापना गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको चर्चा गरे ।
लागूऔषधको प्रयोग सामाजिक समस्या पनि भएकोले यस्ता कुलतको न्यूनीकरण गर्नु आफैमा ठूलो सामाजिक कार्य भएको उल्लेख गर्दै केन्द्रको उन्नति र प्रगतीमा केन्द्रका कार्यकारिणी समितिका पदाधिकारीहरू एवम् सरोकारवाला नागरिकहरूबाट महत्वपूर्ण सहयोग प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।
आसरा सुधार केन्द्रकी कोषाध्यक्ष नविना कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरूद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा उपचाररत सदस्यहरूका अभिभावकहरूको उपस्थिति रहेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ