काठमाडाैं । दलित समुदायमाथिको निरन्तर विभेद र अपमानजनक व्यवहारको कड्कडाहट पुनः एकपटक नेपाली समाजमा सुनिएको छ।
काभ्रेपलाञ्चोक, पाँचखाल- स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि दलित महिला सदस्य विमला विश्वकर्मामाथि सार्वजनिक रूपमै भएको जातीय दुर्व्यवहारका कारण समाजमा तीव्र प्रतिक्रिया उत्पन्न भएको छ।
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर १३ मा निर्वाचित दलित महिला सदस्यमाथि जातिय भेदभाव गर्ने महिला स्वास्थ्य स्वयमसेविका पक्राउ परेकी छन् ।
उनलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवं डिएसपी मीन बहादुर घलेले जानकारी दिए। प्रहरीले दलित महिला सदस्य बिमला विश्वकर्मामाथि जातीय विभेद गर्ने वडा नम्बर १३ कै यमुना नराललाई पक्राउ गरेको हो ।
घटनापछि देशभरका दलित समुदाय र अधिकारकर्मीहरू आन्दोलित बनेका छन्।
के भयो ?
२०७९ सालमा नेपाली कांग्रेसबाट दलित महिला सदस्यमा निर्वाचित भएकी विमला विश्वकर्मा विहानको समय वडामा रहेको नेपाली कांग्रेसको सम्पर्क कार्यालयमा नागरिकता सम्बन्धी छलफलका लागि पुगेकी थिइन्।
त्यही क्रममा सोही घरकी महिला स्वास्थ्य स्वयंसेविका यमुना नरालले तीव्र आक्रोशसहित जातीय गालीगलौज, कार्यालयबाट निकाल्ने धम्की, सार्वजनिक अपमान, र शारीरिक धक्का-मुक्की समेत गरिन्।
नरालले “कमिनी”, “जातले सधैं दुःख दिन्छे”, “मैले देउताको पीडा पाएको तेरो कारण हो”, “पानी मागेर खान्छेस्”, “मै हुँ भन्छे”, “निक्ली हाल”, जस्ता अपमानजनक अभिव्यक्ति प्रयोग गरेकी जाहेरीमा उल्लेख गरिएको छ। उक्त कार्य उनले वडाध्यक्ष सुकवीर तामाङ, विमला विश्वकर्मा र करिब ५० जना स्थानीयबासीको उपस्थितिमा गरिन्।
सामाजिक प्रभाव र दलित समुदायको आक्रोश
घटना बाहिरिएसँगै नेपाल उत्पीडित जातीय मुक्ति समाज, दलित मुक्ति मोर्चा, दलित संघलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू धुलिखेल पुगेर पीडितको जाहेरी दर्ता गरे।
उनीहरूले यस्ता घटनालाई “एक प्रतिनिधि घटनामात्र होइन, पुरै दलित समुदायमाथिको अपमान” भन्दै आक्रोश व्यक्त गरे।
दलित समुदायका नेताहरूले मुलुक संघीयता, समानता र समावेशीतामा अघि बढिरहेको दाबी गरिए पनि वास्तविक समाजमा अझै गहिरो भेदभाव र छुवाछुत कायमै रहेको तथ्य उजागर भएको बताए।
प्रहरीको भनाइ
घटनापछि पक्राउ परेकी यमुना नरालमाथि हाल अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ। डिएसपी मीन बहादुर घलेका अनुसार, जाहेरी दर्ता भएको केही घण्टामै नराललाई नियन्त्रणमा लिइएको हो। उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १६६ अनुसार अनुसन्धान र कारबाहीको प्रक्रियामा राखिएको छ।
कानुनी सन्दर्भ
मुलुकी अपराध संहिता २०७४ को दफा १६६ ले जातीय छुवाछुत र भेदभावलाई गम्भीर आपराधिक कार्य मानिएको छ। यसअन्तर्गत कुनै व्यक्तिलाई जात, वर्ण, जाती वा समुदायको आधारमा हेप्ने, बहिष्कार गर्ने, गालीगलौज गर्ने वा सेवा-सुविधाबाट वञ्चित गर्ने कार्य दण्डनीय छ। दोषी प्रमाणित भएमा तीन वर्षसम्म कैद वा तीस हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ।
पीडितको माग
विमला विश्वकर्माले जाहेरीमार्फत यमुना नराललाई हदैसम्मको सजाय दिनुका साथै सार्वजनिक रूपमा माफी मगाउनु पर्ने र दलित समुदायमाथिको यस्ता घटनालाई सशक्त रूपमा निन्दा गर्दै कानुनी रूपमै कठोर कदम चाल्न आग्रह गरेकी छन्।
यस्तो जाहेरी पत्रः
म जाहेरवाली विमला विश्वकर्मा मिति २०७९/०२/०७ गते काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्बर १३ मा स्थानीय तह दलित महिला सदस्यमा निर्वाचित जनप्रतिनिधि भई कार्य गर्दै आइरहेको छु । मिति २०८१/१२/२१ गते विहानै शिव राज घिमिरेको नागरिकता सम्बन्धी छलफल गर्न भनी म नेपाली काँग्रेस पार्टीबाट निर्वाचित दलित महिला सदस्य भएको हुँदा नेपाली काँग्रेसको वडा सम्पर्क कार्यालयमा म सहितले कार्यालय खोली नागरिकता सम्बन्धी छलफल उक्त वडाका वडा अध्यक्ष सुकविर तामाङ सहित बसी गरिरहेको अवस्थामा उक्त पार्टी कार्यालयका घरधनी यताउती गरी केही छिनमै मलाई वडा अध्यक्ष सहित ४०-५० जना स्थानीय जनसमुदायहरुको बीचमा तँ कमिनी विहानै मेरो घरमा छिर्ने, यो कमिनी छिर्ने ?, यो कमिनीले गर्दा मलाई देउताले दुःख दियो, सँधै आउँछे, पानी मागेर खान्छे, मै हुँ भन्छे, भनी मलाई जातजाति दलित समुदायको आधारमा पार्टी कार्यालयको भाडा समेत तिरी बसेको स्थलमा कुर्सी समेत फ्याँकी दिन्छु, उठ भनी तथानाम गालीगलौज अपशब्द बोली मुखमा थुक्ने, निक्ली हाल भनी अपशब्द प्रयोग गरी मलाई भेदभावपूर्ण व्यवहार गरी धकेली घोक्रयाई मुन्ट्याई, कार्यालय प्रवेशमा रोक लगाउने, अपमानित कार्य गर्ने, उक्त कार्यालय प्रयोग र छलफल विथोली जातीय छुवाछुत भेदभाव गर्ने, तँलाई कुटिहालौं, निक्लिन्नस् भनी गाली बेइजत गरी सबै जनताको अगाडी अपमानपूर्ण दुर्ब्यहार गरेको हुँदा निजलाई वडा अध्यक्ष, म र स्थानीयहरुले समेत सम्झ्याई के भन्नु भएको भनी सम्झाउँदा नसम्झी जे सक्छेस् गर भनी धाक धम्की दिई शारीरिक, मानसिक पीडा समेत दिई आम दलित समूदाय माथी छुवाछुत र भेदभाव सहित उक्त वारदात गरेको हुँदा मुलुकी अपराध संहिता २०७४ को दफा १६६ बमोजिमको कसुर अपराध गरेको हुँदा निज यमुना नराललाई अविलम्ब पक्राउ गरी मलाई उल्लेखित मितिमा जातीय छुवाछुत र भेदभावपूर्ण व्यवहार गरेकोले निजलाई हदैसम्मको सजाँय गरी कानुन बमोजिम कारवाही गरी पाउँ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ