शनिबार, बैशाख १३, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • म्यानचेस्टरमा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न

म्यानचेस्टरमा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न


कान्तिपथ


म्यानचेस्टर, युके – नेपाली नयाँ वर्ष २०८२ को स्वागतार्थ म्यानचेस्टर नेपाली समाजले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

अप्रिल १३ तारिखका दिन म्यानचेस्टरको फालोफिल्डस्थित एक परिस हलमा आयोजित कार्यक्रममा झन्डै २०० जनाको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन समाजका अध्यक्ष डा. दामोदर खनालले नवीन वर्षको शुभकामनासहित कविता वाचन गरेर गरेका थिए। उनले आफ्ना कवितामार्फत् नयाँ वर्षले नेपाली समुदायमा एकता, सद्भाव र संस्कृतिप्रतिको माया अझ सुदृढ होस् भन्ने कामना व्यक्त गरेका थिए।

कार्यक्रममा बालबालिकादेखि युवायुवती र अभिभावकसम्मको सक्रिय सहभागिता रहेको थियो। बालबालिकाहरुले नेपालको विविध संस्कृतिलाई झल्काउने नृत्य, गीत र नाटक प्रस्तुत गरेर दर्शकलाई मन्त्रमुग्ध बनाए। विशेषगरी, विभिन्न जातजातिको भेषभूषामा सजिएका बालबालिकाले प्रस्तुत गरेका समूह नृत्यले हलमा उपस्थित सबैलाई नेपाल सम्झाउने वातावरण बनायो।

समाजप्रति योगदान पुर्‍याउने व्यक्तिहरू सम्मानित

कार्यक्रमको विशेष आकर्षणमध्ये एक थियो—समाजप्रति महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्ने क्षण। लामो समयदेखि म्यानचेस्टरमा नेपाली भाषा कक्षा सञ्चालन गर्दै आएका कमल रौनियार र अनिता खड्कासँगै समाजमा सक्रिय भूमिका खेलेका दिपक प्रताप भुजेललाई सम्मान गरियो। उनीहरूलाई समाजको अध्यक्ष डा. खनाल तथा अन्य वरिष्ठ सदस्यहरुले प्रशंसापत्र र खादा अर्पण गरी सम्मान गरेका थिए।

ओपन डान्स फ्लोरमा रमाइला क्षणहरू

कार्यक्रमको अन्त्यतिर सबै सहभागीका लागि खुला नाचको व्यवस्था गरिएको थियो। नेपाली पप, लोक तथा आधुनिक गितहरूमा सहभागीहरूले भरपुर नाचगान गरेर रमाइलो गरे। ओपन डान्स फ्लोरले कार्यक्रममा उपस्थित सबैलाई आत्मीय बनाउने काम गर्‍यो।

कार्यक्रमको सञ्चालन समाजकै सदस्य दिपक रेग्मी र अनिता खड्काले गरेका थिए। उनीहरूको समन्वय र ऊर्जा भरिपूर्ण प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाएको सहभागीहरूले बताए।

समुदायको भावना

उपस्थित सहभागीहरूले कार्यक्रम अत्यन्त सफल भएको प्रतिक्रिया दिएका थिए। उनीहरूको भनाइ अनुसार, यस किसिमको सांस्कृतिक कार्यक्रमले विदेशमा रहेका नेपालीलाई आफ्नो जरा र पहिचानसँग जोडिरहन सघाउने काम गर्छ। साथै, नयाँ पुस्तालाई नेपाली भाषा, कला र संस्कृति प्रतिको लगाव बढाउन सहयोग पुग्ने उनीहरूको विश्वास छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत