सिरहा । यौन दुर्व्यवहारमा परेकी सिरहाको नवराजपुर गाउँपालिका–३ दोनवारी टोलकी २५ वर्षीया आनन्दीदेवी सदायको मृत्यु घटनाले फेरि एक पटक यो देशमा महिलाको न्याय खोज्ने संघर्ष कति पीडादायी, अन्योलपूर्ण र अपमानजनक छ भन्ने देखाएको छ।
यौन दुर्व्यवहारको शिकार भएकी एक महिला – जसले हिम्मत गरेर प्रहरीमा जाहेरी दिइन्, तर उनी न्याय पाउनु त परै जाओस्, उल्टै मृत अवस्थामा भेटिनुपर्यो।
के यो देशमा महिलाका आँशु सुक्नु पर्नेछ अदालतको ढोका बाहिरै ?
पुस ९ गते गाउँकै दुई युवक, २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवबाट यौन दुर्व्यवहारमा परेकी आनन्दीले त्यही दिन जाहेरी दिइन्। तर इलाका प्रहरी कार्यालय, महेशपुर पतारले किन त्यही दिन उजुरी दर्ता गरेन ? किन २५ फागुनसम्म प्रहरी निदाएको थियो ? त्यो पनि तबमात्र उजुरी दर्ता भयो, जब आनन्दी मृत अवस्थामा फेला परिन्।
अहिले भने प्रहरीले आरोपितलाई खोजिरहेको छ । पीडितकी आमा बिलटौनदेवी सदायले ९ पुसमा सञ्जीव र श्यामसुन्दरविरुद्ध जबर्जस्ती करणी उद्योगमा जाहेरी दिएकी थिइन् । तर, इलाका प्रहरी कार्यालयले आरोपितलाई पक्राउ गर्नुको साटो एउटै जाहेरी फरक–फरक मिति उल्लेख गरी फरक नम्बरमा दर्ता गरेको थियो ।
प्रहरीको ‘काम गर्ने शैली’ : पीडितमाथि पुनः पीडन
मृतककी आमा बिल्टौनदेवी सदाय बताउँछिन् – आरोपितहरूलाई उन्मुक्ति दिन स्थानीय प्रहरी र गाउँकै प्रभावशाली पक्षले मिलाउन दबाब दिएका थिए।
यस्तो अवस्थामा प्रहरीको काम पीडितलाई संरक्षण दिने हो कि आरोपितलाई बचाउने ?
यस घटनाले राज्यसंयन्त्रको निष्क्रियता मात्र होइन, निर्दोषलाई घात पुर्याउने संरचनात्मक भ्रष्टाचार देखाएको छ।
सम्भावित आत्महत्याको पछाडि सामाजिक बहिष्कार र पारिवारिक बेवास्ता
एकातर्फ न्याय नपाउँदा मानसिक तनाव, अर्कोतर्फ आफ्नै श्रीमानको बेवास्ता – यी दुई कुराले आनन्दीलाई भित्रैदेखि तोड्यो। के त्यो आत्महत्या थियो ? कि न्याय नपाउने व्यवस्थाको निर्मम हत्या ?
छानबिन समिति : मात्र कागजी प्रक्रिया ?
मधेश प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन समिति बनाएर आफूलाई जिम्मेवार देखाउने प्रयास गरिरहेको छ। तर के यस्तो समिति कुनै प्रभावशाली प्रतिवेदन ल्याउँछ? कि यो पनि सामान्य ‘फाइल बन्द’ गर्ने ढर्राको अभ्यास बनिन्छ ?
वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको संयोजकत्वमा गठन गरिएको छानबिन समितिमा प्रहरी निरीक्षक विक्रम शाह र एकजना प्रहरी सहायक हवल्दार सदस्य रहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
अबको माग :
तुरुन्त फरार अभियुक्तहरूलाई पक्राउ गरी कडा कारबाही
अनुसन्धानको निगरानीका लागि स्वतन्त्र मानवअधिकार आयोगको संलग्नता
जाहेरी ढिलो दर्ता गर्ने प्रहरीमाथि अनुशासनात्मक कारबाही
पीडित परिवारलाई राज्यको तर्फबाट न्यायिक तथा मानसिक परामर्श सहयोग
कानून लेख्नु मात्र होइन, कार्यान्वयन गर्नु राज्यको कर्तव्य हो।
आनन्दीदेवीको मृत्यु कुनै एकजनाको पीडा मात्र होइन – यो सम्पूर्ण महिलामाथिको मौन हिंसा हो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ