सोमवार, जेष्ठ ५, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति संघबीच समझदारी पत्रमा हस्ताक्षर

नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति संघबीच समझदारी पत्रमा हस्ताक्षर


गणेश विक


काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगंज र नेपाल नेत्रज्योति संघबीच आँखा उपचार सेवा प्रवाह, क्षमता अभिवृद्धि र जनशक्ति आदानप्रदानलाई सहज तथा प्रभावकारी बनाउन आपसी सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक दिपक थापाको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा नेपाल प्रहरी अस्पतालको तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्यौजु र नेपाल नेत्रज्योति संघको तर्फबाट संघका महासचिव भरतबहादुर चन्दले उक्त समझदारीपत्रमा हस्ताक्षर गरे ।

साथै प्रहरी अतिरिक्त महानिरीक्षक डा. ह्यौजु र संघका महासचिव चन्दले उक्त समझदारीपत्र आदानप्रदान समेत गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम गराउन अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई यस समझदारीले थप हौसला मिल्ने उल्लेख गर्नुभयो । आगामी दिनमा समेत नेपाल प्रहरी र नेपाल नेत्रज्योति संघबीच थप सेवा विस्तारका लागि समन्वय तथा सहकार्य हुने विश्वास उनले व्यक्त गरे ।

सो अवसरमा नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले जनताको सेवामा खटिने प्रहरीसँग सहकार्य गर्न पाउँदा गौरवान्वित महसुस भएको चर्चा गर्दै आगामी दिनमा समेत सेवा विस्तारको लागि संघ सदैव तयार रहेको बताए ।

उक्त सम्झौता अनुसार नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति संघको सहकार्य र समन्वय मार्फत आँखा तथा कान उपचार सेवालाई सहज तथा प्रभावकारी बनाउने, गुणस्तरीय आँखा उपचार सेवा प्रवाह सुधार गर्न ‍जनशक्ति र विशेषज्ञताको आदानप्रदान तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू संचालन गर्ने, आँखा स्वास्थ्यका सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने, नेपाल नेत्रज्योति संघले नेपाल प्रहरी अस्तालबाट रिफर/सिफारिस भई आएका बहालवाला प्रहरी कर्मचारीहरूलाई आँखा सम्बन्धी सबै उपचार/शल्याक्रियाहरूमा शतप्रतिशत छुट प्रदान गरिने उल्लेख गरिएको छ । यस सम्झौता २०८२ वैशाख ९ गतेदेखि कार्यान्वयन भई ३ वर्ष अवधिको लागि लागू हुनेछ ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत नेपाल नेत्रज्योति संघका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत