काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) दुर्लभकुमार थापाको निधन भएको छ। उनी ९७ वर्षका थिए। थापाको निधन मङ्गलबार भएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ।
स्व. थापा वि.सं. २०३५ सालदेखि २०३९ सालसम्म नेपाल प्रहरीको महानिरीक्षकका रूपमा सेवा गरेका थिए। प्रहरी सेवामा रहँदा उनले संगठनको आधुनिकीकरण र संस्थागत विकासमा उल्लेखनीय योगदान पुर्याएका थिए।
उनकै नेतृत्वमा प्रहरी प्रधान कार्यालय परिसरभित्र आईजीपी निवासको निर्माण गरिएको थियो। त्यस्तै, नेपाल प्रहरीको विशेष तालिम प्रणाली अन्तर्गत ‘कमाण्डो तालिम’ सुरु गर्ने महत्वपूर्ण निर्णय पनि उनकै पालामा भएको थियो। त्यस्तै, पर्यटकहरूको सुरक्षालाई मध्यनजर गर्दै ‘पर्यटक प्रहरी’को अवधारणा ल्याई कार्यान्वयनमा ल्याइएको थियो। साथै, शहरी सुरक्षा व्यवस्थापनलाई बलियो बनाउने उद्देश्यले ‘प्रहरी पहरा गण’को स्थापना पनि उनले गरेका थिए।
प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले पूर्व आईजीपी थापाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले स्व. थापाको योगदानलाई सदैव स्मरणीय र प्रेरणादायी रहेको बताएका छन्।
नेपाल प्रहरी संगठनका लागि थापा एक दूरदर्शी नेतृत्वकर्ता मानिन्छन्। उनको निधनले प्रहरी सेवा र सुरक्षाक्षेत्रमा अपूरणीय क्षति पुगेको प्रहरी संगठनले जनाएको छ।
दिवंगत भएका थापाको पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाई औपचारिक श्रद्धाञ्जली अर्पण गरिएको थियो।
श्रद्धाञ्जली
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ