कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले तयार पारेको मुक्त कमैया, हलिया र कम्लहरी पुनःस्थापना कार्यविधि २०८१ को कार्यान्वयन सम्बन्धी एक महत्वपूर्ण छलफल लालझाडी गाउँपालिकामा सम्पन्न भएको छ।
कार्यक्रममा विगतमा परिचयपत्र वितरण प्रक्रियाबाट छुटिएकाहरूलाई पुनः लगत संकलन गरी समेट्ने निर्णय लिइएको छ।
कार्यक्रममा प्रमुख अतिथि लालझाडी गाउँपालिका अध्यक्ष निर्मल कुमार रानाले प्रदेश र पालिका तहमा निर्देशिका तयार गरी छुट भएकाहरूलाई परिचयपत्र वितरण गरिने प्रतिवद्धता जनाए।
उनले भने, “आगामी नीति तथा कार्यक्रममा स्रोत-साधन अनुसार लक्षित समुदायलाई समेट्नेगरी बजेट विनियोजन गरिनेछ।”
कार्यक्रममा मुक्त कमैया, हलिया र कम्लहरी समुदायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला संघसंस्थाहरूको सहभागिता थियो।
संयुक्त रूपमा मुक्त कमैया समाज, कमैया महिला जागरण समाज र मुक्त कम्लहरी विकास मञ्चद्वारा आयोजित उक्त छलफलमा अधिवक्ता बालाराम भट्टराईले कार्यविधिका प्रमुख प्रावधानबारे प्रस्तुति दिएका थिए।
मुक्त कमैया समाजका केन्द्रिय अध्यक्ष पशुपति चौधरी, मुक्त कम्लहरी विकास मञ्चका अध्यक्ष हिरा चौधरी लगायत वक्ताहरूले आफ्ना धारणा राख्दै छुटिएकाहरूको शीघ्र लगत संकलन र पहिचान सुनिश्चित गर्न आग्रह गरे।
कार्यक्रमको सञ्चालन मुक्त कमैया समाजका प्रदेश अध्यक्ष चन्द्र प्रसाद चौधरीले गर्नुभएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ