सिरहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ मा खानेपानीको चरम अभाव भएको महीनौँ बितिसक्दा समेत समस्या समाधान नभएपछि स्थानीयबासीहरूले आक्रोश पोख्न अनौठो शैली अपनाएका छन् ।
शुक्रबार रिपोर्टिङका लागि पुगेका पत्रकारमाझ उनीहरूले रित्तो गाग्री हस्तान्तरण गर्दै आफ्नो पीडा सार्वजनिक रूपमा अभिव्यक्त गरेका हुन् ।
स्थानीय महिलादेखि वृद्धसम्मको बाक्लो उपस्थिति रहेको उक्त दृश्यले खानेपानीको समस्या कति गहिरो छ भन्ने स्पष्ट देखिएको थियो ।
“पानीको भरमा बिहान उठ्ने बित्तिकै भाडा बोकेर कुवा र इनारतिर हिँड्नुपर्छ, त्यो पनि कहिलेकाहीँ त रित्तो हात फर्कनुपर्छ,” ७० वर्षीए एक बृद्धले बताए ।
उनीहरूका अनुसार स्थानीय नलमा महिनौँदेखि पानी आएको छैन । भूमिगत पानीको सतह अत्यधिक घटेको छ भने वैकल्पिक श्रोतहरू पनि निकम्मा भएका छन् ।
नगरपालिकाबाट बारम्बार माग गर्दा पनि अहिलेसम्म कुनै स्पष्ट योजना ल्याइएको छैन ।
रित्तो गाग्री हस्तान्तरण गर्नु एउटा सांकेतिक विरोध थियो । पत्रकार मण्डलले भने, “हामी रिपोर्टिङ गर्न गएका थियौँ, तर स्थानीयको यो प्रतिकात्मक विरोध देख्दा निकै भावुक बन्यौँ ।
उनीहरूको पीडा वास्तविक हो र तत्काल ध्यान दिनु आवश्यक छ ।”
स्थानीय सामाजिक अभियन्ता विवेक राज डोटेलले स्थायी खानेपानी परियोजनाको माग गर्दै पटक पटक लाहान खानेपानी तथा सिँचाइ कार्यालयमा निवेदन बुझाए पनि सुनुवाई नभएको बताए ।
चर्चित नेता तथा नेपाली कांग्रेस पार्टीका दिग्गवज व्यक्तित्व विवेक राज डोटेलले “ हामी दातृ निकाय र संघीय सरकारसँग धनगढीमाई १३ काफ्ले डाँडा स्थित खानेपानी समस्या समाधानको लागि समन्वयको माग गर्दैछौँ,” ।
उक्त क्षेत्रका दर्जनौं घरपरिवार अहिले पनि पानीको जोहोका लागि दिनमा ३–४ घण्टा खर्च गर्न बाध्य छन् ।
बालबालिका, वृद्ध र महिलाहरू विशेष प्रभावित भएका छन् ।
धनगढीमाई–१३ मा देखिएको यो संकटले देशका ग्रामीण भेगहरूमा अझै पनि खानेपानीको सुनिश्चित पहुँच नपुगेको यथार्थ उजागर गर्छ ।
स्थानीय सरकारले तत्काल राहत र दीर्घकालीन योजना ल्याएर समस्या समाधानतर्फ गम्भीर ध्यान दिन जरुरी देखिन्छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ