सिरहा। सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ४ मा रहेको एक होटलमा यौन धन्दा सञ्चालित भइरहेको भन्ने हल्ला सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ। तर, घटनास्थलमा रहेका प्रहरी र पत्रकार स्रोतहरूका अनुसार ती दावीहरू निराधार र भ्रामक छन्। सम्बन्धित पक्षहरूले घटनाबारे स्पष्ट पार्दै सामाजिक सञ्जालमा फैलिएको गलत सूचनाको खण्डन गरेका छन्।
घटना कसरी भयो ?
शुक्रबार दिउँसो करिब ३ बजेतिर सिरहा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जागेश्वर यादव आफ्नै आफन्तको निम्तोमा खाजा खानका लागि गोलबजार वडा नं. ४ मा रहेको एक होटलमा पुगेका थिए। त्यही बेला मिर्चैयाबाट फर्कंदै गरेका एक पत्रकारले होटल अगाडि राखिएको सरकारी नम्बर प्लेट भएको मोटरसाइकल देखेपछि शंका गर्दै होटलभित्र प्रवेश गरे।
पत्रकारले आफू पानीको बोतल किन्दै गर्दा वडा अध्यक्ष यादवले मदिरा सेवन गरेको अवस्थामा अभद्र व्यवहार गरेको दाबी गरेका छन्। यथाशीघ्र उनले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका थिए, जसपछि इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीको भनाइ र तथ्य
प्रहरीका अनुसार घटनास्थलमा पुग्दा सामान्य भनाभन र विवाद मात्र भएको पाइएको थियो र त्यो तुरुन्त मिलाइएको थियो। त्यहाँ कुनै आपत्तिजनक गतिविधि देखिएको थिएन। प्रहरी स्रोतका अनुसार, घटनास्थलमा भेटिएको सरकारी मोटरसाइकल वडा नं. ५ का अध्यक्ष यादवकै जिम्मामा रहेको थियो भने अर्को निजी मोटरसाइकल वडा नं. ४ का अध्यक्ष मो. शमसादका आफन्तको थियो।
सामाजिक सञ्जालमा फैलिएको हल्ला
घटना सार्वजनिक भएपछि केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त होटलमा यौन धन्दा सञ्चालन भइरहेको भन्ने हल्ला फैलाए। तर घटनास्थलमा प्रत्यक्ष सहभागी पत्रकारले स्पष्ट रूपमा भनेका छन्, “त्यहाँ यौन धन्दा केही थिएन, त्यो केवल झुठो प्रचार हो। केही व्यक्तिले घटना तोडमोड गरेर अफवाह फैलाउने प्रयास गरेका छन्।”
वडा अध्यक्ष यादवको प्रष्टिकरण
विवादमा तानिएका वडा अध्यक्ष जागेश्वर यादवले पनि घटनाबारे प्रष्ट पार्दै भने, “म आफन्तकोमा खाजा खान गएका थिए। त्यही क्रममा सामान्य विवाद भएको थियो, तर त्यो विवाद हामीले आपसमा मिलाइसकेका छौं।” यादवले आफू कुनै आपत्तिजनक गतिविधिमा संलग्न नरहेको दाबी गर्दै अफवाह फैलाउनेहरूविरुद्ध कारबाहीको माग गरेका छन्।
चरित्र हत्या र सामाजिक सञ्जालको दुरुपयोग
यस घटनाले सामाजिक सञ्जालमा गलत सूचना कति छिटो फैलिन सक्छ र त्यसले कसैको सामाजिक प्रतिष्ठामा कस्तो असर पार्न सक्छ भन्ने कुरालाई उजागर गरेको छ। कुनै पनि आधिकारिक पुष्टि विना फैलाइने हल्लाले व्यक्तिको चरित्र हत्या हुन सक्छ, जुन पत्रकारिता र सामाजिक उत्तरदायित्वको दृष्टिकोणले अत्यन्तै गम्भीर विषय हो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ