काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखा प्रमुख, प्रहरी नायब महानिरीक्षक(डीआईजी) हिमालयकुमार श्रेष्ठको सरुवा बदर गरिएको छ ।
शुक्रबार गृहमन्त्री स्तरीय निर्णयबाट डीआईजी श्रेष्ठलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गर्दै नवनियुक्त डीआईजी ओम बहादुर रानालाई अख्तियारमा पदस्थापन गरिएकोमा केही घण्टापछि उक्त निर्णय उल्टिएको छ ।
प्रहरी अधिकारीहरूको सरुवा नियमित प्रक्रिया भए पनि अख्तियारले भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहेका बेला डीआईजी श्रेष्ठको सरुवाले व्यापक चर्चा पाएको थियो ।
सोही विवादका बीच सरुवा निर्णय उल्ट्याउँदै श्रेष्ठलाई अख्तियारमै यथावत् राखिएको छ भने रानालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको छ ।
भिजिट भिसा प्रकरणसँग सम्बन्ध ?
सरुवा निर्णयले विशेष चर्चा पाउनुका पछाडि हाल अख्तियारले अनुसन्धान गरिरहेको ‘भिजिट भिसा’ दुरुपयोग प्रकरणलाई जोडिएको बुझिएको छ। स्रोतहरूका अनुसार डीआईजी श्रेष्ठ नेतृत्वको प्रहरी टोलीले उक्त मुद्दामा केही प्रभावशाली व्यक्तिहरूमाथि अनुसन्धान तीव्र बनाउँदै आएको थियो। त्यही सन्दर्भमा श्रेष्ठको सरुवा गरिनु प्रश्न उठाउने विषय बनेको थियो।
एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार, “सरुवा त सामान्य प्रक्रिया हो तर अहिले जुन संवेदनशील मुद्दाको अनुसन्धान भइरहेको छ, त्यसकै नेतृत्व गरिरहेका अधिकृतको अचानक सरुवा हुनु सामान्य मान्न सकिन्न।” यही जनचासो र विवादका कारण केही घण्टामै सरुवा निर्णय उल्ट्याइएको हो भन्ने आन्तरिक चर्चा रहेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ