काठमाडाैं । कलमले संसार बदल्न सक्दछ। तर त्यो कलमले जब आफ्नै कसम खाएर अन्यायविरुद्ध उठ्छ । तब त्यसले इतिहास लेख्दछ। पत्रकार गणेश विक यस्तै एक कलमधारी नाम हुन्। जो न खिचिएका रेखाभित्र अडिन्छन्। न त डरले झुक्छन्।
उनीमाथि छायाँझैँ लागेको जोखिम कहिल्यै हट्दैन। तर, हरेक जोखिमलाई उनले कलमको मसी बनाए। हरेक धम्कीलाई उनले सत्यको औजार बनाए। र अन्ततः, समाजले चिन्यो, उनी केवल पत्रकार होइनन्। उनी एक संघर्षको नाम हुन्।
यसै सत्यको सम्मानमा, पत्रकार विकलाई कागेश्वरी मनोहरा (मुलपानी) महोत्सव–२०८२ मा सम्मान गरेको छ।
आर्या मिडिया हाउसको आयोजनामा आयोजित उक्त कार्यक्रममा संयुक्त मेला महोत्सव ग्रुप प्रालिको व्यवस्थापनले सम्मान गरेको हो ।
गाउँको माटोबाट उब्जिएको कलम
सुदुपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङ, जहाँ अकालमै बाल्यकाल बिझाउँछ। जहाँ शिक्षा सपना हो, स्वास्थ्य कल्पना। त्यहीँको काखबाट २०५३ साल असार १४ गते जन्मिए गणेश विक।
पिता हरि कामी र माता डल्लीदेवी कामीको जेष्ठ सुपुत्रका रूपमा जन्मिएका विकको बाल्यकाल सामान्य गाउँले परिवेशमा बित्यो। गाउँको गोठ, रुखको छायाँ, सँगैको भाेक र अभावबीच हुर्किएर उनी काठमाडौँ आए, कलममा न्यायको रेखा कोर्न।
कसैले उनलाई नोटबुक दिएन, कसैले रिपोर्टिङ ट्याब्लेट दिएन। तर, उनले गाउँका आमाहरूको आँखाको आँशु पढे। बालबालिकाको स्कूल जान नपाएको पीडा देखे। र, त्यही पीडालाई आवाज दिने शपथ लिए। पत्रकारिता भनेकै पीडाको भाष्य लेख्ने धर्म हो भन्ने उनले आत्मसात् गरे।
जब कलम बन्दुकझैँ भइसकेको थियो…!
२०७० सालदेखि जाेखीम अपराध र अनुसन्धान पत्रकारितामा लागेका विकको यात्रा सुलभ थिएन। कहिले प्रहरीले हिरासतमा राख्याे, कहिले अदालतले घिसार्यो। कहिले पावरवाला नेताले बदनाम गरे, कहिले आफ्नै समुदायले चुप लाग भनी दबाब दियो।
२०७५ मा लागूऔषध कारोबारमा मुछिएका प्रहरीबिरुद्ध समाचार प्रकाशित गरेपछि विकलाई रातारात बझाङबाट काठमाडौंकाे टेकु हिरासतमा राखियो। बिना अपराध, अपराधी झैँ व्यवहार गरियो। तर उनी चुप लागेनन्।
२०७९ मा ‘हनी ट्र्याप’ काण्ड भित्र्याए, जहाँ पर्दामा काङ्ग्रेसनेता थिए, पछाडि सत्ता। उनको चरित्र हत्या गरियो । फेसबुक–पेज र फेक अकाउन्टहरूबाट ‘कसिलो’ हल्ला चलाइयो। तर उनी डगमगाएनन्।
२०८० मा समाजवादी पार्टीका एक नेतासँग जोडिएको भिडियो प्रकरणमा अनुसन्धान गरे। प्रतिफल ? साइबर क्राइमको मुद्दा।
त्यही वर्ष, सिन्सियर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभमा करोडौं भ्रष्टाचारको पर्दाफास गरेपछि त उनलाई सिधै ज्यान मार्ने धम्की आयाे, अदालतमा गालीबेजती मुद्दा।
तर, उनलाई थकाउने सबै प्रयासहरु असफल भए। किनभने उनले कलमलाई व्यवसाय होइन, संघर्षको कर्मभूमि माने।
‘खप्तडटिभी’: कानुनभन्दा अगाडि न्याय खोज्ने आवाज
विकको नेतृत्वमा सञ्चालित ‘खप्तडटिभी’ कुनै स्टुडियोको सुविधा, ब्रेकिङ न्यूजको होड वा भ्यूजको बजार होइन। यो हो नागरिकहरूको दुखाइको डिजिटल दस्तावेज।
जहाँ रेडियो नपुग्ने गाउँमा माइक पुग्छ, जहाँ सत्ताले नजरअन्दाज गरेका आवाजहरू गुञ्जिन्छन्।
उनले बाल यौन शोषण उजागर गरे, शिक्षामा दोहोरिँदो अन्याय देखाए, दलित र महिलामाथि हुने विभेदलाई विषय बनाए, गरिबी, बेरोजगारी र उपचार नपाएर मर्नुपर्ने पीडालाई माइक दिए।
खप्तडटिभी आज दुरदराजका जनताको ‘नयाँ संसद्’ बनेको छ । जहाँ प्रश्न उठ्छ, उत्तर मागिन्छ।
सम्मान मात्र होइन, समाजको आत्मबिमर्श
मुलपानी महोत्सवमा गरिएको सम्मान केवल एकजना पत्रकारको सम्मान होइन। यो हो आत्मा नबेच्ने पत्रकारहरूको कदर। जब पत्रकारिता खुद संकटमा छि। तब सत्य बोल्नेहरूलाई अगाडि ल्याउनु सामाजिक साहसको सूचक हो।
गणेश विकले सम्मान ग्रहण गर्दै भनेका थिए: “मैले कलमलाई कुनै गुट, दल वा स्वार्थ समूहको तरबार बन्न दिएको छैन। मेरो कलम पीडितको हातमा न्याय खोज्ने मशाल बनेको छ।”
यी शब्दहरू केवल घोषणापत्र होइनन्, कलम उठाउने हरेक युवाको पथप्रदर्शक।
उज्यालोको आशा : भोलिको पत्रकारिता
आज विक केवल आफूलाई होइन, नयाँ पुस्तालाई तयार पार्न खोजिरहेका छन्। उनी अनुसन्धानमूलक जाेखिम पत्रकारितालाई युवाहरूमा प्रोत्साहन गर्दै छन्।
खप्तडटिभीलाई राष्ट्रिय स्तरको सत्य, जिम्मेवारीपूर्ण मञ्च बनाउने योजना उनका शिरमा छ।
उनी भन्छन्, “पत्रकारिता व्यापार होइन, न्यायप्राप्तिको प्रक्रिया हो।”
सत्ताले गुम्स्याएको सत्य उजागर गर्नु जोखिम हो। तर गणेश विकले त्यही जोखिमलाई कर्तव्यको सौन्दर्य बनाएका छन्। उनीहरूले कलमलाई पन्छाएर होइन, उठाएर देश बनाउने सपना देखेका छन्।
मुलपानी महोत्सवमा जुन मञ्चमा सम्मानित भए, त्यो कुनै अन्तिम गन्तव्य होइन। त्यो त केवल संकेत हो। कि अझ धेरै पथ हिंड्न बाँकी छ।
शब्द सकिए पनि संघर्ष सकिएको छैन। कलम रोकिने छैन। किनभने गणेश विक जस्ता पत्रकारहरू अझ छन्, जो पीडाको आवाज बन्न जान्दछन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ