काठमाडौं । नेपाल पत्रकार महासंघ, सिराहा शाखा, मधेश प्रदेश समिति, प्रेस सेन्टर नेपाल र प्रेस युनियनले अलग-अलग विज्ञप्ति जारी गरी नेकपा एमाले लाहान नगर अध्यक्ष राजकुमार साहद्वारा नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैता यादवमाथि सामाजिक सञ्जालमार्फत गरिएको अभद्र, आपत्तिजनक र भ्रामक टिप्पणीप्रति गहिरो आपत्ति जनाएका छन्।
२०७८ असार १७ गते पत्रकार यादवले तथ्यमा आधारित भिडियो सामग्री सार्वजनिक गरेपछि त्यसको बदलामा एमाले नगर अध्यक्ष साहले सामाजिक सञ्जालमा “खाते”, “भाडका टट्टू” जस्ता अपमानजनक शब्द र व्यक्तिगत आक्षेप प्रयोग गर्दै पत्रकारको प्रतिष्ठामाथि योजनाबद्ध हमला गरेका थिए।
नेपाल पत्रकार महासंघ, सिराहा शाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ — “सत्यमा आधारित सामग्री सार्वजनिक गर्नु पत्रकारको अधिकार मात्र नभई कर्तव्य पनि हो। त्यसविरुद्ध गरिएको अपमानजनक व्यवहार व्यक्तिगत हमलामात्र नभएर सम्पूर्ण प्रेस स्वतन्त्रतामाथि संगठित प्रहार हो।”
यसरी गरिएको सार्वजनिक चरित्र हत्या र अनावश्यक विवाद सिर्जनाले प्रेस स्वतन्त्रतालाई कमजोर पार्ने प्रयत्नलाई उजागर गरेको छ। महासंघले यस्ता गैरजिम्मेवार अभिव्यक्तिको कडा निन्दा गर्दै दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। साथै सम्पूर्ण सञ्चारकर्मी र सरोकारवालाहरुलाई सत्यको पक्षमा एकजुट हुन आह्वान गरेको छ।
नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले पनि घटनालाई गम्भीर रूपमा लिँदै महासचिव शैलेन्द्र महतो क्रान्तिद्वारा जारी विज्ञप्तिमा स्पष्ट पारेको छ — “पत्रकार यादवको भिडियो तथ्यमा आधारित छ। त्यसलाई लिएर सामाजिक सञ्जालमा प्रयोग गरिएका अभद्र शब्दावली प्रेस स्वतन्त्रतामाथि सीधै धावा हो।”
मधेश प्रदेश महासंघले दोषीमाथि तत्काल छानबिन गरी कानुनी कारबाही गर्न माग गरेको छ र चेतावनी दिएको छ — “यदि यस्ता कार्य दोहोरिए भने सम्पूर्ण पत्रकार समाज सडकमा उत्रिन बाध्य हुनेछ।”
यो घटना नेपालको पत्रकारिता क्षेत्रमा बढ्दो राजनीतिक हस्तक्षेप र पत्रकारलाई डर, अपमान र बदनाम गर्ने प्रवृत्तिको प्रमाण हो। सत्यको पक्षमा उभिनेलाई नै दण्डित गर्ने परिपाटी लोकतन्त्रको चौथो अंगमाथि गम्भीर चुनौती बनेको छ।
पत्रकारहरूले सत्यका लागि कलम र क्यामेरा सम्हाल्छन्। तर सत्यको आवाज दबाउन खोज्ने प्रयासलाई पत्रकार समाजले कदापि स्वीकार गर्ने छैन। प्रेसमाथि हुने जुनसुकै हमलाको जवाफ सत्यका पक्षधर आवाजहरूले नै दिनेछन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ