शुक्रबार, चैत्र २७, २०८२

सौर्य एयरलाइन्स दुर्घटनामा , छानबिनले तीन तहको गम्भीर लापरवाही देखायो

१ साउन २०८१ मा मर्मत (C-Check) का लागि पोखरा उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको करिब एक मिनेटमै दुर्घटनामा पर्दा १८ जनाको ज्यान गएको थियो। सरकारद्वारा गठित छानबिन आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा विमान कम्पनी, पाइलट र नागरिक उड्डयन प्राधिकरणको संयुक्त लापरवाही यो दुर्घटनाको मुख्य कारण भएको उल्लेख छ।

छानबिन प्रतिवेदनका मुख्य बुँदाहरू:

🔸 भुल स्पिडकार्ड प्रयोग: विमानको वास्तविक तौल अनुसार टेकअफ स्पिड (V-Speed) गलत तय गरिएको थियो। प्रयोगमा ल्याइएको स्पिडकार्ड प्रमाणिकृत नभएको पाइएको छ, र यो गल्ती कसैले समयमा पहिचान गर्न सकेनन्।

🔸 लोडिङमा लापरबाही: विमानमा सामानहरू अनियमित ढंगले राखिएका थिए। ज्वलनशील वस्तुजस्तै लुब्रिकेन्ट, क्लिनर, औजार बाकस, र खाद्यान्न यात्रु क्याबिनमै सुरक्षा मापदण्डविना राखिएको थियो।

🔸 रोटेसनको समस्या: अत्यधिक गति र पिच कोण (१५ डिग्री) मा विमानले उचाइ लिँदा ‘डिप स्टल’ स्थिति आयो, जसले विमानको सन्तुलन गुमायो।

🔸 असामान्य रोल रेट: विमान १५.५ डिग्री प्रति सेकेन्डको दरमा दायाँतिर झुक्यो र २६ डिग्रीसम्म पुगेको थियो, जुन सामान्यभन्दा निकै बढी मानिन्छ।

🔸 इन्धनसम्बन्धी समस्या: देब्रे इन्जिन पहिलो प्रयासमा स्टार्ट हुन सकेन, दोस्रो प्रयासमा मात्र सफल भयो। यद्यपि टेकअफको बेला दुवै इन्जिनले सामान्य रूपमा काम गरिरहेका थिए।

🔸 फेरी फ्लाइटको तयारी अपूरो: विशेष सुरक्षा तयारी आवश्यक पर्ने फ्लाइट भए पनि आवश्यक योजना र मापदण्ड पालना गरिएको थिएन। अपरेसन तथा ग्राउन्ड ह्यान्डलिङ म्यानुअलको समेत उल्लङ्घन भएको देखिन्छ।

🔸 क्याप्टेन ढिला ककपिटमा: उडानका ३० मिनेटअघि मात्र क्याप्टेन ककपिटमा पुगेका थिए। कोपाइलटसँग सामान्य कुरा भए पनि आवश्यक प्रि-स्टार्ट प्रक्रिया नदेखिएको छ।

🔸 दुर्घटनापछि उद्धारमा ढिलाइ: दुर्घटनापछि १ मिनेट ४० सेकेन्डमा दमकल पुगे पनि प्रभावकारी उद्धार हुन सकेन। क्याप्टेनलाई बाहिर निकालिए पनि ककपिटमा रहेका अन्य क्रु सदस्यहरूलाई समयमै उद्धार गर्न नसकिँदा उनीहरूको ज्यान गएको आशंका गरिएको छ।

🔸 विमानस्थलको संरचना पनि जिम्मेवार: त्रिभुवन विमानस्थलको रनवे पछाडि सुरक्षित क्षेत्रको अभावले दुर्घटनापछिको क्षति झनै बढाएको प्रतिवेदनमा उल्लेख छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत