यी हुन् नवनियुक्त आइजिपी खापुङ्ग: हेर्नुहोस् पृष्ठभूमिमा
सरकारले बहालवाला आईजीपी दीपक थापाको अवकाश हुन एक साता बाँकी रहँदै एआईजीपी चन्द्रकुबेर खापुङलाई ३२औँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङको नियुक्ति गर्ने निर्णय गरेको हो।
आईजीपीको प्रतिस्पर्धामा खापुङ एक्ला दाबेदार बनेका थिए, किनभने उनका ब्याचमेट एआईजीपी कृष्णहरि शर्मा दुई दिनमै उमेरहदका कारण अवकाशमा जान लागेका छन्।
०५१ कात्तिक २६ गते इन्स्पेक्टरमा प्रवेश गरेका खापुङ हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख हुन्। उनी प्रहरी संगठनमै विवादरहित मानिन्छन्। यसअघि उनले कोशी प्रदेश प्रहरी प्रमुख र उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरिसकेका थिए।
तर, खापुङको कार्यकाल लामो हुने छैन। प्रहरी नियमावली अनुसार, उनी कात्तिक २६ मा ३० वर्षे सेवाहद पुगेपछि अवकाशमा जानेछन्। यस कारण उनको कार्यकाल संगठनको इतिहासमै सबैभन्दा छोटो रहनेछ।


तेह्रथुम मोहामा जन्मिएका खापुङ छ भाइमध्ये साहिँला हुन्। उनकी पत्नी भावना श्रेष्ठ पनि प्रहरी डीएसपीबाट अवकाश प्राप्त भएकी थिइन्।
