– बाबुराम श्रेष्ठ
“यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥”
अर्थात्-
“जब-जब धर्मको नाश हुन्छ र अधर्म को वृद्धि हुन्छ, तब-तब म आफ्नो रुपलाई रच्ने छु, साथै संसारमा सबैको अगाडि प्रकट हुने छु । सज्जनहरुको रक्षाको लागि, पापीहरुको बिनाशको लागि धर्मको पुनर्स्थापनाको लागी म युग युगमा प्रकट हुने छु ।“
– श्रीकृष्ण (श्रीमद्भगवद्गीता, अध्याय ४)
राजनितिलाई साधन बनाएका, बिचौलियाहरुबाट घेरिएका, हमेशा सत्ता स्वार्थमा लिप्त मुठ्ठिभर ब्यक्तिहरुबाट नेपालमा भैरहेको चरम अधर्म (बेथिति, कुरिती, राज्य शक्तिको दोहन, श्रोत साधनको दोहन, नाताबाद, कृपावाद, भ्रष्टाचार, मनपरीतन्त्र ईत्यादी) को दुश्चक्रलाई तोडेर आम सोझा सिधा नागरिकहरुलाई यी पापीहरुको दलदलबाट मुक्त गर्नको लागि हाम्रा छोराछोरी पुस्ता/युवा पुस्ता जेन-जी (Generation-Z) भगवान् श्रीकृष्ण बनेर स्वस्फूर्त रुपमा हिजो मिति २०८२ भाद्र २३ गते शोमबार सडकमा ओर्लिएका थिए ।
तर अफसोच ! आफ्नो भन्दा पनि आफ्नो मातृभूमीको सुन्दर भविष्यको सपना बोकेका र आफ्ना बुबा आमाको उत्तरार्धको जीवन सुखमय बनाउने उत्कट अभिलाषा बोकेका ती कलिला नानी बाबुहरुको निहत्था आवाजलाई आततायी सरकारले तातो गोलीले बर्बरतापूर्बक दवाउने दुश्कार्य गर्यो । अनाहकमा १९ जना देशका कर्णधारहरुले कलेजको पोशाकमा नै जीवनको बलिदानी दिनु पर्यो । यसको जति नै भर्त्सना निन्दा गरे पनि अपूरो हुन्छ, कुनै पनि (वि)तर्क, प्रष्टिकरणवा आश्वासनले यस कार्यलाई न्यायोतित गर्न सकिदैन । अबश्य नै यो घटना, बुद्धको जन्मभूमी-शान्तिभूमी नेपालको इतिहासमा कालो दिन हो । सरकार, गृह प्रशासन र प्रहरी प्रशासनको बर्बरताको पराकाष्टा हो यो, इतिहासले यसलाई कहिल्यै क्षमा दिने छैन । आउँदै गरेको दशैंको मुखमा कयौं आमाको कोख रित्तिएको छ भने, कति परिवारको बंशनाश भएको छ, परिवार/बुढेसकालको सहारा/सपना अस्ताएको छ….. । सबै कानूनी राज्य र
२
प्रजातान्त्रिक राज्यमा के यस्तै दमन हुन्छ त ? जनताकै भोटबाट सत्तामा पुगेकाहरुको जनबिरोधी निर्णय र निर्देशन एवं जनता कै करबाट पालित पोषित सुरक्षाकर्मीहरु बाट अत्याधिक बल प्रयोग गरी भएको नरसंहार र ज्यादति ….के युक्तिसंगत छ त ? कुनै पनि कोणबाट बिचारबिमर्श गर्दा पनि यो न्यायोचित हुन सक्दैन । ताकी ताकी गोली हान्नु, अझै अस्पताल भित्र गएर गोली हान्नु, अश्रूग्यास हान्नु, निहत्था बिद्यार्थी माथी लछारपछार गर्दै खुलमखुल्ला सडकमा लडाएर शरिर माथी बुठ प्रहार गर्नु जस्ता कार्यहरुको कसरी भर्त्सना गर्ने ? अन्तराष्ट्रिय मानवीय कानुनमा पनि युद्ध मैदानमा समेत अस्पताललाई निशाना बनाउन नपाईने बिश्वब्यापी नियम छ । (सञ्चार माध्यममा सहयोगको अपिल देखे पछि स्वयंसेवकको रुपमा कार्य गर्न श्रीमति सहित पङ्तिकार आफै निजामति अस्पताल, बानेश्वरमा जाँदा अश्रूग्याँसको प्रहारको अनुभव गरेको) ।कुनै द्विविधा हुनुहुँदैन – यी कंशहरुको बिनाश हुनै पर्छ । तर कसरी? कसरी ?? कसरी ???
नेपालमा अधिकांश जनताहरु चेतनशिल नागरिक भन्दा पनि राजनितीक कार्यकर्ता बढि छन् । आफ्ना नेताहरुलाई देवत्वकरण गरेर आत्मरतिमा रमाएका छन् । के यिनीहरुलाई देश र जनताको चिन्ता अनि माया छ त? पक्कै पनि छैन ।चिन्ता भएको भए “मै खाउँ मै लाउँ सुख सयल वा मोज म गरूँ …(कवि शिरोमणि स्व. लेखनाथ पौडेल)” भनेर राज्य संयन्त्र र राज्य सम्पतिको यति साह्रै दोहन अवश्य गर्ने थिएनन् । अझ अचम्मको कुरो – यिनीहरु हिजोको घटना घटे पछि एक अर्कालाई दोषारोपण गरेर पानी माथीको ओभानो बन्दै छन् । धिक्कार छयस्ताहरुलाई !
यी कलिला नानी बाबुहरुलाई मात्र अगाडि लगाएर, उनीहरुको जीवनको मूल्यमा हाम्रो पुस्ता चूप लागेर बस्नु यथोचित छ त? पक्कै पनि छैन । के यो देशको उत्थान गर्ने जिम्मेवारी जेन-जी पुस्ताको मात्रै हो त ? पक्कै होइन । उनीहरुले बाटो देखाईदिएका छन्, अधेँरोमा झिल्का बनेर आएका छन्, कुम्भकर्ण निद्रामा सुतेका अगाडिका पुस्तालाई जगाईदिएका छन् । उनीको यो आँट र यात्रालाई अविभावक पुस्ताले साथ दिनु आजको अपरिहार्यता हो । अझै पनि हामी अविभावकहरु नबिउझिने हो भने, खाउँ खाउँ… लाउँ लाउँ… उमेरमा जीवन उत्सर्ग गरी हाँसी हाँसी सहादत प्राप्त गरेका ती कलिला बाबु नानीहरुको आत्माले हामीलाई सराप्नेछ । त्यसैले, धमिलो पानीमा माछा मार्न पल्केका स्वार्थी समुहबाट नितान्त बाहिर रहेर, सबै राजनैतिक खोललाई फुकालेर मातृभूमीलाई शीरमा राखि कत्ति पनि ढिला नगरी
३
हामी अविभावकहरु अब बाहिर निस्कनु पर्छ । सरकारले हिजोको मितिबाट नै पूर्ण रुपमा बैधानिकता र बिश्वसनियता गुमाईसकेको छ । के नागरिक समाज, के सेना, के प्रहरी, के निजामति सबैले अहिंसा, अवज्ञा आन्दोलन शुरु गर्नु पर्दछ । राजनितिक खोलमा र प्रजातन्त्रको नाममा देशमा भएका सबै प्रकारका बेथिती र कुरितीहरुको उन्मुलन गर्नु पर्दछ । किनकी देश नै डुब्यो भने हामी सबै एकै साथ डुब्ने छौं ।
प्रजातन्त्रले अङ्गिकार गरेका बिषयहरु जस्तैः सार्वभौमिक जनसत्ता,जनअधिकार र स्वतन्त्रता, कानूनी शासन र न्यायमा पहुँच, उत्तरदायी र पारदर्शी सरकार, समानता र समावेशीता, संवाद र सहमति, सामाजिक न्याय र विकास,सुशासन, शक्तिपृथकिकरण इत्यादि को प्राप्ति नेपालको आजको आबश्यकता हो । हामी सबै जानकार छौं की भलै यी बिषयहरु संबिधानमा र कानूनमा लेखिएका छन् तर ब्यबहारमा कत्ति पनि लागू भएका छैनन् ।
त्यसैले हाम्रो देश नेपाल पापीहरुको र बिचौलियाहरुको दुश्चक्रबाट बाहिर आउनै पर्छ । प्रजातान्त्रिक देशमा दमन हुँदैन भन्ने बिश्वब्यापी मान्यता रहेको छ । कसैले पनि अकालमा ज्यान गुमाउनु हुँदैन, मानव जीवन अमूल्य हुन्छ र हुनुपर्छ । जनधनको सुरक्षा सरकारको हो र हुनुपर्छ । आजको युगको कंशलाई नाश गर्न श्रीकृष्णको जन्म भै सकेको छ । केवल श्रीकृष्णलाई हामी पुरानो बा/आमा पुस्ताको सहयोग र साथ चाहिएको छ ।
त्यसैले अब हामी बा/आमा पुस्ता अगाडि आउनुपर्छ । हिजोको नरसंहारमा प्रत्यक्ष र परोक्ष रुपमा संलग्न सबैलाई न्यायिक दायरामा ल्याई तत्काल कारवाही गर्ने, अनाहकमा ज्यान गुमाएका वीर योद्धाहरुको यथोचित क्षतिपूर्ति (हुनै सक्दैन, यद्यपी…) तथा उहाँहरुको परिवारको मागको संबोधन गर्ने, संबिधानमा भएका कमिकमजोरीहरु सुधार्ने, सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, भ्रष्टाचारमा मुछिएकाहरुलाई छानबिनको दायरामा ल्याई कार्वाही गर्ने (सबै प्रकारका काण्डहरु जस्तैः भूटानी शरणार्थी काण्ड, भिजिट भिषा काण्ड, पोखरा भैरहवा एयरपोर्ट काण्ड, ओम्नी काण्ड इत्यादि), स्वच्छ र छरितो न्याय प्रणाली स्थापना गर्ने, निजामति एवं प्रहरी प्रशासनलाई पेशेवर र जनमूखि बनाउने, अनाबश्यक रुपमा देशको ढुकुटी रित्त्याउने संरचनाहरुको खारेज गर्ने, सर्वसुलभ नेपाली मौलिकताको ब्यबसायिक शिक्षा प्रणालीको बिकाश गर्ने, संबैधानिक निकाय र परराष्ट्र क्षेत्रलाई भर्तिकेन्द्रबाट उन्मुक्ति दिने, औद्योगिककरणको बिकाश गरि नेपाललाई आर्थिक समुन्नति गर्ने जस्ता मूल एजेण्डाहरु बोकेर
४
हामी बा/आमा पुस्ता अगाडि आउनु पर्छ । यति गर्न सक्यौं भने मात्र हिजो ज्यान गुमाएका कलिला बाबु-नानीहरु/छोरा-छोरीहरुको आत्माले शान्ति पाउने छ र हाम्रो मातृभूमी नेपालले निकाश पाउने छ ।
(लेखक बाबुराम श्रेष्ठ नेपाली सेनाका पूर्व उपरथी साथै समाजशास्त्र, राष्ट्रिय सुरक्षा, प्रतिरक्षा तथा रणनिति, सिभिल ईञ्जिनियरिङ्ग बिषयका बिद्यार्थी र हाल द्वन्द्व, शान्ति र विकाश अध्ययनको दर्शनाचार्य-विद्यावारिधी का बिद्यार्थी समेत हुनुहुन्छ)

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ