मोरङ प्रहरी यतिबेला जेनजी आन्दोलनको आवरणमा विराटनगरसहित मोरङका विभिन्न स्थानमा आगजनी, तोडफोड र लुटपाट मच्चाउने समूह एवं व्यक्तिको पहिचानमा जुटेको छ ।
आगजनी, तोडफोडजस्ता अपराधिक गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने हिसाबले प्रहरी अघि बढेको हो । कानुनी दायरामा ल्याउन सरकारी एवं निजी सम्पत्तिमा आगजनी गरेर विध्वंस मच्चाउनेलाई प्रहरीले कडा निगरानी गरिरहेको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा सरकारी तथा निजी सम्पत्तिलाई लक्षित गर्दै आतंक फैलाउनेहरू पहिचानको अन्तिम चरणमा पुगेको र छिट्टै कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले बुधबार आयोजित पत्रकार भेटघाट एवं परिचयात्मक कार्यक्रममा जेनजीको आवरणमा अपराधिक आतंक मच्चाउने अब कारबाहीको दायरामा आउने जानकारी दिए । सोमबार मात्र जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेर कार्यालयमा हाजिर भएका कटवालले आफ्नो पहिलो सार्वजनिक कार्यक्रममा भने, ‘राज्य र नागरिकको सम्पत्तिमाथि आगजनी गर्नेहरुलाई उन्मुक्ति दिन सकिँदैन । प्रमाण संकलन भइसकेको छ । अब ‘स्क्रिनिङ’ गरेर संलग्नलाई कानुनी दायरामा ल्याइन्छ ।’
उनका अनुसार गत भदौ २४ गते जेनजी आन्दोलनको नाममा अराजक भिडले विराटनगरसहित मोरङका सरकारी कार्यालय, निजी संरचना र व्यापारिक प्रतिष्ठान एवं मलसमेतमा आगजनी, तोडफोड र लुटपाट गरेको थियो । क्षतिग्रस्त संरचनाको मुचुल्का उठाइसकिएको र घटनाबारे पीडितले प्रहरीमा उजुरी समेत दर्ता गराइरहेको जानकारी एसपी कटवालले दिए ।
प्रहरीले यसअघि नै सर्वसाधारणलाई घटनासम्बन्धी फोटो, भिडियो वा अन्य प्रमाण उपलब्ध गराउन आह्वान गरेको थियो । प्रमाण उपलब्ध गराउनेको पहिचान गोप्य राखिने एसपी कटवालले स्पष्ट पारे । ‘धेरै प्रमाणहरु हात परेका छन् । अझै संकलन भइरहेको छ । ती सबैको विश्लेषणपछि संलग्नहरु कारबाहीको दायरामा आउँछन्,’उनले भने ।
एसपी कटवालले जेनजी आन्दोलनलाई आवरण बनाएर आपराधिक गतिविधि गर्ने र अराजक भिडलाई त्यस्तो कार्यमा उक्साउनेहरूमाथि समेत कानुनी कारबाही हुने प्रष्ट पारे । ‘यस्ता घटनाले प्रहरीको मनोबल खस्किएको छ । तर, अब कानुनी प्रक्रिया अघि बढाएर प्रहरीको मनोबल उच्च बनाउनेतर्फ ध्यान केन्द्रित गरिएको छ,’उनी भन्छन् ।
प्रहरी स्रोतका अनुसार भाग्न सक्ने सम्भावना रहेकाले विध्वंसमा संलग्न समूहलाई नजिकबाट निगरानी बढाइएको छ । ‘जसरी पनि कारबाही हुन्छ । अहिले ‘स्क्रिनिङ’ गरेर प्रमाणित गरिरहेका छौं । विभिन्न घटनासँग सम्बन्धित प्रमाणको विश्लेषण पनि भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ