शुक्रबार, कार्तिक २१, २०८२

चुनौती र सम्भावनाको संगममा काठमाडौं परिसर प्रमुख रमेश थापा


कान्तिपथ


दशैं-तिहार, छठ लगायतका चाडपर्वले मुलुकमा उल्लास ल्याए पनि काठमाडौंका प्रहरीका लागि भने यो समय जिम्मेवारी र सतर्कताको चरम घडी हो। चाडपर्वको भीडभाड, सहरको चहलपहल र जन आवागमन सँगै चोरी, ठगी, झैझगडा जस्ता घटनाहरू बढ्ने गर्छन्। यही संवेदनशील समयमा काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापा नेतृत्वमा रहेको टोलीले कानूनको शासन र जनसुरक्षाको प्रत्याभूति दिलाउने कठिन भूमिकामा खटिएको छ।

रमेश थापा आफ्नो व्यावसायिक दक्षता, कार्यनिष्ठा र अनुशासनका कारण संगठनभित्र एक सक्षम र रणनीतिक अधिकारीको रूपमा परिचित छन्। जेन जी आन्दोलनपछिको अस्थिर अवस्था, आन्दोलनका नाममा हुने गैरकानुनी गतिविधि र त्यही आवरणमा सक्रिय अपराधी समूहहरूको पुनःसक्रियता यी सबै परिस्थितिलाई सन्तुलनमा राख्दै उनले काठमाडौँको सुरक्षा संयन्त्रलाई चलाइरहेका छन्।

थापाको नेतृत्वमा हाल प्रहरीले चाडपर्वका बेला हुने चोरी, ठगी, लुटपाट लगायतका अपराध नियन्त्रणमा विशेष रणनीति अवलम्बन गरेको छ। काठमाडौँका मुख्य चोक देखि गल्लीसम्म गस्ती बढाइएको छ भने सादा पोशाकमा खटिएका प्रहरीहरूलाई अपराधि गतिविधि पहिचान र नियन्त्रणमा सक्रिय राखिएको छ। प्रहरी कार्यालयले नागरिकसँग प्रत्यक्ष सम्पर्क र सहकार्यलाई प्राथमिकता दिँदै ‘समुदाय-प्रहरी साझेदारी’ को अभ्यासलाई पनि सुदृढ गर्दै अझै प्रवाभकारी हुनेगरी समाजसग जोडिने कार्यक्रम ल्याउने तयारीमा छन्।

तर यस बीचमा चुनौतीहरू कम छैनन्। अहिले देशमा चलिरहेको जेन जी आन्दोलनका क्रममा हातहतियार, प्रहरीको पोशाक र परिचय पत्र जस्ता सामग्री हराउने वा दुरुपयोग हुने घटनाले थप सुरक्षा जोखिम निम्त्याएको छ। प्रहरीको पहिचान दुरुपयोग गरेर अपराध गर्न खोज्ने तत्वहरूको खोजी, निगरानी र नियन्त्रण अहिलेको प्रमुख चुनौती बनेको छ। यस्तो अवस्थामा रमेश थापाको टोलीले आधुनिक प्रविधि, सूचनाको स्रोत र स्थानीय स्तरका सूचकहरू मार्फत अनुसन्धान र नियन्त्रणमा जोड दिएको छ।

त्यस्तै राजधानीमा हुने विभिन्न विरोध प्रदर्शन, सभासम्मेलन र आन्दोलनले पनि दैनिक प्रहरी परिचालनमा चुनौती थपिरहेको छ। सुरक्षा व्यवस्थापनसँगै जनअधिकार र अभिव्यक्तिको स्वतन्त्रता बीचको सन्तुलन कायम गर्नु सजिलो छैन। तर थापाको नेतृत्वमा प्रहरी प्रशासनले संयमता, संवाद र कानुनी आधारमा व्यावहारिक समाधान खोज्दै आएको छ।

यसैबीच पनि रमेश थापाको काम गर्ने शैलीले प्रहरी संगठनभित्र नयाँ आशा जगाएको छ। उनी केवल आदेश दिने अधिकृत होइनन्, आफू अग्रपङ्क्तिमा उभिएर टोलीसँगै खटिने नेतृत्वकर्ता हुन्। यही कारण प्रहरी कर्मचारीहरूमा मनोबल उच्च छ भने, नागरिकमा पनि उनको नेतृत्वप्रति विश्वास बढ्दो छ।

चाडपर्वको भीडभाड, आन्दोलनको तनाव र अपराध नियन्त्रणको दबाब बीच पनि काठमाडौँ प्रहरी परिसर अहिले एक ‘सक्रिय प्रहरी प्रशासन’को उदाहरण बन्दै गएको छ।

समाचार: जिवन तामाङ



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत