बुधबार, माघ २८, २०८२

प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सोमबार प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३औँ समूह (पोष्ट ग्र्याजुएट डिप्लोमा इन पुलिस साइन्स १४औँ समूह) को दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ।

समारोहमा प्रधानमन्त्री कार्कीले तालिममा सर्वप्रथम तथा शारीरिक क्षमता एवं आत्मबल अभिवृद्धितर्फ पनि प्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक निराजन बस्नेतलाई स्वर्गीय “कुलानन्द विद्या सर्वप्रथम पुरस्कार” प्रदान गर्नुभयो। साथै उहाँले सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी निरीक्षक मोहनसिंह बस्नेत, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक तारा बहादुर तामाङ, कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक ईश्वर महत, प्रहरी युक्ति तथा कारबाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक दिनेश प्रसाद रिमाल, अध्ययनतर्फ प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक नविन कुमार शाही तथा मस्केट्री तथा चाँदमारीतर्फ प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक श्रीमान चाईलाई पुरस्कार प्रदान गर्नुभयो।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले कठिन परिश्रम, अनुशासन र समर्पणका साथ तालिम सम्पन्न गरी दीक्षित भएका सम्पूर्ण प्रहरी निरीक्षकहरूलाई हार्दिक बधाई तथा सफल व्यावसायिक जीवनको शुभकामना व्यक्त गर्नुभयो। उहाँले तालिमका क्रममा विकसित समूह भावना, निर्णय क्षमता र संकट सामना गर्ने सीप नै पेशागत जीवनका आधार स्तम्भ भएको उल्लेख गर्दै नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने कुशल नेतृत्व विकास गर्न आग्रह गर्नुभयो।

नेपाल प्रहरी राज्य र नागरिकबीचको पहिलो सम्पर्क बिन्दु भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले प्रहरी अधिकृतहरूको व्यवहार, आचरण र निर्णयले राज्यप्रतिको जनविश्वास निर्माण हुने बताउनुभयो। “कानुनभन्दा माथि कोही छैन, तर कानुन कार्यान्वयन गर्ने अधिकारीहरूमा शिष्टता, मानवता र विवेक अनिवार्य हुनुपर्छ,” उहाँले भन्नुभयो। अनुसन्धान स्पष्ट र व्यावसायिक भए मात्र न्याय सम्भव हुने उल्लेख गर्दै गरिब, कमजोर र पीडितको पक्षमा दृढ रहन निर्देशन दिनुभयो।

प्रधानमन्त्री कार्कीले परम्परागत अपराधसँगै साइबर, संगठित, वित्तीय तथा बहुदेशीय अपराधका चुनौती बढ्दै गएकाले प्रहरीको भूमिका आदेश पालनामा मात्र सीमित नरही विश्लेषक र समाधानकर्ताको रूपमा विकसित हुनुपर्नेमा जोड दिनुभयो। साथै, आसन्न निर्वाचन स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीको भूमिका अत्यन्त संवेदनशील रहने बताउँदै कुनै पनि राजनीतिक प्रभाव र पूर्वाग्रहबाट माथि उठेर कानुनअनुसार कर्तव्य निर्वाह गर्न निर्देशन दिनुभयो।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी राष्ट्रको आन्तरिक सुरक्षाको मेरुदण्ड भएको उल्लेख गर्दै आज दीक्षित प्रहरी निरीक्षकहरू राज्यका प्रतिनिधि, कानुनका संरक्षक र जनविश्वासका वाहक भएको बताउनुभयो। अपराधका स्वरूप जटिल बन्दै गएको वर्तमान अवस्थामा कानुनको गहिरो ज्ञानसँगै विवेक, संयमता, नैतिकता र व्यावसायिक निर्णय क्षमताको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै करिब १९ महिनाको कठोर प्रशिक्षणपछि दीक्षित प्रहरी निरीक्षकहरूलाई हार्दिक बधाई दिँदै नेपाल प्रहरी संगठनमा स्वागत गर्नुभयो। उहाँले नेपाल प्रहरी नागरिकका दुःख, पीडा र समस्यामा सधैं अग्रपंक्तिमा उभिएर सेवा गर्दै आएको र सात दशकको इतिहास बोकेको संगठन अझ दरो बन्दै नागरिक सेवामा समर्पित रहेको उल्लेख गर्नुभयो।

समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहले प्रशिक्षार्थीहरूलाई सपथ ग्रहण गराउनुका साथै स्वागत मन्तव्य र तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँका अनुसार २०८१ साउन २१ गतेदेखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित उक्त तालिममा ९ महिला सहित कुल ९२ जना प्रहरी निरीक्षक सहभागी थिए, जसले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन्।

दीक्षान्त समारोहमा प्रशिक्षार्थीहरूको कवाज प्रदर्शन, नेपाल प्रहरी संगीत विद्यालयद्वारा सांगीतिक प्रस्तुति तथा दीक्षित प्रहरी निरीक्षकहरूलाई अभिभावकद्वारा दर्ज्यानी चिन्ह सुशोभन गराइएको थियो।

समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवं अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र सिंह भण्डारी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार तथा प्रेस सल्लाहकार, महान्यायाधिवक्ता, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, पूर्व प्रहरी महानिरीक्षकहरू, वरिष्ठ सुरक्षा अधिकारीहरू, सञ्चारकर्मी, अभिभावक तथा अन्य विशिष्ट महानुभावहरूको उपस्थिति रहेको थियो।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत