बुधबार, बैशाख ३०, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • वर्षपछि खुल्यो ‘दुर्घटना’को रहस्य—श्रवण थापा हत्या प्रकरणमा श्रीमतीसहित ३ पक्राउ

वर्षपछि खुल्यो ‘दुर्घटना’को रहस्य—श्रवण थापा हत्या प्रकरणमा श्रीमतीसहित ३ पक्राउ


कान्तिपथ


करिब सात वर्षअघि बर्दिबासमा भएको श्रवण कुमार थापा (सरोज) को मृत्यु प्रकरण अन्ततः योजनाबद्ध हत्या भएको पुष्टि भएको छ। प्रारम्भमा सवारी दुर्घटना मानिएको उक्त घटनामा प्रहरीले हाल मृतककी श्रीमती पूजा थापा, उनकी सालीहरू निशा बस्नेत गौतम र आरती बस्नेतलाई पक्राउ गरेको छ।

२०७६ असार ३१ गते राति बीपी राजमार्ग अन्तर्गत बर्दिबास नजिक स्कुटर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। स्कुटर सामान्य अवस्थामा रहे पनि शव सडकबाट तल नालीमा भेटिएपछि परिवारले सुरुदेखि नै शंका व्यक्त गरेको थियो।

प्रारम्भिक अनुसन्धानपछि घटना ‘दुर्घटना’का रूपमा बन्दजस्तै भए पनि परिवारको दबाबपछि केन्द्रीय अनुसन्धान ब्युरो ले पुनः अनुसन्धान थालेको थियो। त्यस क्रममा यो हत्या ‘सुपारी’ दिएर गरिएको खुलासा भयो।

अनुसन्धानअनुसार, वैवाहिक तनावका कारण श्रीमती पूजा थापाले आफ्ना परिवारसँग मिलेर हत्या योजना बनाएकी थिइन्। घटनाको राति औषधि किन्ने बहानामा बाहिर लगेर स्मृतिपार्क नजिक ‘सुपारी किलर’ मार्फत टाउकोमा ढुंगाले प्रहार गरी हत्या गरिएको थियो। पछि दुर्घटनाजस्तो देखाउन स्कुटर सडकमा पल्टाइएको र शव नालीमा फालिएको थियो।

प्रहरीका अनुसार हत्या गर्न करिब साढे तीन लाख रुपैयाँ ‘सुपारी’ दिइएको थियो। घटनामा संलग्न केही व्यक्तिहरू यसअघि नै पक्राउ परे पनि मुख्य योजनाकारहरू भारत फरार भएका थिए। हाल नेपाल–भारत सीमा क्षेत्रबाट तीन जना महिलालाई पक्राउ गरिएको हो भने अन्य आरोपी अझै फरार छन्।

यो प्रकरणमा पक्राउ परेका केही मुख्य अभियुक्तहरू भने ‘जेनजी आन्दोलन’का क्रममा जेलबाट फरार भएका छन्, जसले अनुसन्धानलाई थप जटिल बनाएको छ।

मधेश प्रदेश प्रहरीको समन्वयमा पुनः सक्रिय बनाइएको अनुसन्धानले अन्ततः सत्य उजागर गरेको हो। प्रहरीका अनुसार बाँकी फरार अभियुक्तहरूको खोजी जारी छ र पक्राउ परेकामाथि कानुनी प्रक्रिया अघि बढाइएको छ।

वर्षौंसम्म दुर्घटनाको रूपमा लिइएको घटना अन्ततः जघन्य हत्या भएको पुष्टि हुनु अनुसन्धानको महत्वपूर्ण उपलब्धि मानिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत