दुर्घटनामा परि तीनको मृत्यु

accident

पाँचथरमा गएराति सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।पाँचथरको हिलिहाङ गाउँपालिका–४ सालिङ्गेमा टिपर दुर्घटना हुँदा धादिङ घर भएका चालक विनोद तामाङ र हिलिहाङ–२ घर भएका भीम तामाङको मृत्यु भएको हो । निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा काम गरेर फर्कँदै गरेको बा२क २९२० नंको टिपर सडकबाट करीब १०० मिटर तल झरेर दुर्घटना भएको हो ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको र शवलाई परीक्षणका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यता सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटान क्षेत्रमा मङ्गलबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा पृथ्वीनगर–४ का २९ वर्षीय दिपेश मुखिया रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । स१झ २६८ नंको गाडीले को३०प ५३०१ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल पछाडि सवार मुखियाको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक दमक–१० का ३० वर्षीय योगेशकुमार धिमालको विराटनगरमा उपचार भइरहेको छ । ठक्कर दिने गाडी र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यस्तै पश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको बर्दघाट नगरपालिका–१४ की १८ वर्षीया रीङ्कला विकको माछा मार्ने क्रममा करेन्ट लागेर मङ्गलबार मृत्यु भएको हो । घरबाट बिजुलीको तार लगाएर स्थानीय खजुराखोलामा माछा मार्ने क्रममा एक्कासी उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

करेन्ट लागेर सोही ठाउँका २६ वर्षीय शङ्कर विक घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..