अपर तामाकोशीको ड्याम खाली गरिदै : ५ हजार घनमिटरसम्मको बाढी डेढ घण्टा रोक्न सकिने

ठूलो बाढीको जोखिमबाट तामाकोसी नदी तटीय क्षेत्रका बासिन्दालाई जोगाउन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय खाली गर्न थालिएको छ। शनिबार बिहान सात बजेदेखि जलासयबाट पानी छाड्न थालिएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए। चीनतर्फ गएको पहिरोले तामाकोसीको सहायक खोला थुनिएपछि दोलखा, रामेछापको तामाकोसी तटिय क्षेत्रमा त्रास बढेको छ।

दोलखाको नेपाली सीमा नजिकै चीनको तिङ्ग्री काउन्टी क्षेत्रमा तामाकोसी नदीको सहायक रोङ्सी खोला थुनिएर ठूलो ताल बनेको चिनियाँ पक्षले जनाएको छ। पहिरोले थुनिएको खोला ताल बनेर बसेको सूचना चिनियाँ पक्षले दिएपछि जिल्ला प्रशासन कार्यालय दोलखाले तटिय क्षेत्रमा सतर्कता अपनाउन गए राति नै सूचना जारी गरेको थियो। लप्ची नजिकै ६० र ६१ नम्बर सीमास्तम्भनजिकै पहिरो गएर नदी थुनिएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता गणेश न्यौपानेले ताल फुटेर ठूलै बाढी आए तटीय क्षेत्रका मानिस सुरक्षित स्थानमा जानका लागि जलासय खाली गर्न थालिएको जानकारी दिए। ‘जस्तोसुकै बाढी आए पनि डेढ घण्टा तामाकोसीको बाँधले थेग्छ,’ न्यौपानेले भने, ‘उक्त समयमा तटीय क्षेत्रका मानिस सुरक्षित स्थानमा जानका लागि जलासय खाली गरिएको हो ।’ तामाकोसी जलाशयको पानीको सतह १९ सय ७८ मिटरमा झार्ने काम भइरहेको उनले बताए । ‘तामाकोसीको बाँध ५ हजार घनमिटरसम्मको बाढी थेग्न सकिने गरी निमार्ण गरिएको छ,’ उनले भने ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..