annapurna add

accidentमध्यपहाडी लोकमार्गमा अनियन्त्रित भएर एक ट्रयाक्टर सडकदेखि खस्दा चालकको मृत्यु भएको छ ।

ध १ त ४७१२ नम्बरको खाली ट्रयाक्टर मङ्गलबार राति १० बजे बागलुङ नगरपालिका–३ बोक्सेगैह्रामा सडकदेखि १५० मिटर तल खसेको थियो ।

घटनामा म्याग्दीको धौलागिरि गाउँपालिका–७ मुना घर भएका २९ वर्षीय चालक केशबहादुर पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले बताउनभुयो ।

घटनामा सहचालक सकुशल भेटिएका थिए ।

मङ्गलबार नैै ढोरपाटन नगरपालिका–९ को नवचेतना प्राविकी शिक्षक मृत फेला परेकी छन् ।

स्थानीय भुजीखोलामा विद्यालय पोशाकमै उनको शव भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो । उनको झोला, मोवाइललगायत सामान खोला छेउमै भेटिएका थिए ।

नहरका छेउबाट हिंड्दा लडेको जस्तो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिनिधिसभा विघटन मुद्दा ः कार्कीका स्थानमा मल्ल
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा रिक्त न्यायाधीशमा सपना मल्ल तोकिनुभएको छ ।

न्यायाधीश हरिकृष्ण कार्की अघिल्लो केपी शर्मा ओलीका सरकारमा महान्यायाधिवक्ता रहेकाले निष्पक्षतामा प्रश्न उठेपछि इजलासमा उहाँका स्थानमा आज मल्ल तोकिनुभएको हो ।

सोसम्बन्धी रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद छ । प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिनुभएको थियो । यसबारे कहाँ सुनुवाइ हुने भन्ने आज मात्र तय हुनेछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा गत बुधबार सुनुवाइ शुरु भएको थियो । सोही दिन प्रश्न उठेपछि कार्कीले इजलासमा नबस्ने घोषणा गर्नुभएको थियो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित प्रधानन्यायाधीशले तोकेको अन्य पाँच न्यायाधीश रहने व्यवस्था छ । यही पुस १० गते संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखले पुस १९ गते महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गरिसकेका छन् ।

अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिश र निर्णयको सक्कल प्रति राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउने र प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिष्ट्रारसमेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने आदेश जारी गरेको थियो ।

त्यस्तै अदालतले माग गरेको अदालतको सहयोगी एमिकस क्युरीमा नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली तथा सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय पूर्णमान शाक्य र गीता पाठकको नाम सिफारिश गरेका छन् ।

प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध १४ रिट निवेदन दर्ता भएको थियो । राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गर्नुभएको थियो ।

रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ ।

त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, सन्तोष भण्डारी, दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर केसी, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा र अच्युतप्रसाद खरेलले रिट निवेदन दायर गर्नुभएको थियो ।

कानून व्यवसायीले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्रीले गरेको सिफारिश र सो सिफारिशका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही र सो सिफारिशका आधारमा भए गरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरिएको छ ।

बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ ।

घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृत्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताउनुभयो ।

सुरक्षित प्रसूतिका लागि गर्भवतीलाई निम्तो
हुम्लाको खार्पुनाथ गाउँपालिकाले महिलामैत्री योजना लागू गरेको छ । तीमध्ये एक हो, सुरक्षित प्रसूतिका लागि निमन्त्रणा ।

घरमै सुत्केरी हुँदा आमा÷बच्चाको स्वास्थ्य खतरा हुन सक्ने भन्दै गाउँपालिकाले सुरक्षित प्रसूतिका लागि गर्भवती महिलालाई स्वास्थ्य संस्थामा नियमित चेकजाँच र प्रसूतिका लागि निमन्त्रणा गरेको हो ।

जुन घरमा गर्भवती छन्, त्यो घरमा बधाईसहित गाउँपालिकाकाले कार्ड पठाउन शुरू गरेको छ । कार्डको एकातिर गर्भवती भएकोमा बधाई दिइएको छ भने चार, छ, आठ र नौ महिनामा अनिवार्य गर्भ जाँच गर्न आग्रह गरिएको छ ।

गाउँपालिका स्वास्थ्य शाखाका संयोजक बलिराज शाहीका अनुसार गर्भवतीलाई अनिवार्य रूपमा स्वास्थ्यचौकीमा आउन निमन्त्रणा कार्ड नै वितरण शुरू गरिएको हो । “कार्डमा गर्भवती भएका बेला अपनाउनुपर्ने र सचेत हुनुपर्ने कुराहरू पनि समावेश गरेका छौं”, उहाँले भन्नुभयो, “कम्तीमा चार पटक गर्भ जाँच गराउन पनि निमन्त्रणा कार्डमार्फत नै सम्झाउन खोजेका छौं ।”

गाउँपालिकाभित्र जोखिमका साथ परम्परागत रूपमा घरमै सुत्केरी हुने अवस्था हटाउन यस्तो उपाय निकालिएको बताउँदै संयोजक शाहीले बालमृत्युदर कम गर्न यो कार्यक्रम प्रभावकारी हुनसक्छ भन्नुभयो । स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने गर्भवतीलाई रु तीन हजार यातायात खर्च र नियमानुसार स्वास्थ्यचौकी आएर चार पटक चेकजाँच गरेपछि थप रु ८०० पाउने व्यवस्था रहेको बताउँदै उहाँले नवजात शिशुलाई पनि न्यानो झोला र लुगा दिने व्यवस्था छ ।

पछिल्ला समय स्वास्थ्यचौकीमा आएर १०१ गर्भवतीले सुरक्षित सुत्केरी गराएको संयोजक शाहीले जानकारी दिनुभयो । सुत्केरी तथा गर्भवती महिलालाई निम्तोपत्र दिने अभ्यास गर्ने खार्पुनाथ गाउँपालिका जिल्लाकै पहिलो स्थानीय तह रहेको छ । शुरुका वर्षमा गाउँघरमै सुत्केरी हुने र हाल गाउँपालिकाले सुरक्षित सुत्केरीका लागि निम्तो पठाएपछि स्वास्थ्यचौकी गर्भवती हुनेको सङ्ख्या बढेको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...