आईजीपी थापासँग रुष्ट एआईजी पाल बिदाईमा गएनन्: जुनियर मातहत काम नगर्ने भन्दै बिदामा !

नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी हुन आइतबार टर्की प्रस्थान गरेका छन् । उनको अनुपस्थितिमा तेस्रो वरियताका एआईजी निरजबहादुर शाहीलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइएको छ । प्रहरी महानिरीक्षक क्षेत्रीको अनुपस्थितिमा शाहीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

क्षेत्रीपछि दोस्रो वरियताका एआईजी हरिबहादुर पाल थिए । तर तेस्रो वरियताका शाहीलाई निमित्तको जिम्मा दिइएपछि असन्तुष्ट पाल विदामा बसेका छन् । प्रहरी नियमावलीमा बरिष्ठतमलाई कार्यवाहकको जिम्मा दिनुपर्ने उल्लेख छ ।

असन्तुष्ट भएका पाल प्रहरी महानिरीक्षक क्षेत्रीलाई विदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि गएनन् । प्रहरी प्रमुख लामो यात्रामा निस्किंदा बरिष्ठतम अधिकृतहरु विदाई कार्यक्रममा सहभागी हुने प्रचलन छ ।

प्रहरी महानिरीक्षक क्षेत्री टर्कीको इस्तानबुलमा यही मंसिर ७ गतेदेखि ९ गतेसम्म आयोजना हुने महासभामा सहभागी हुनेछन् । महासभामा सहभागी हुन क्षेत्रीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत टर्की गएका छन् ।

१९४ इन्टरपोल सदस्य राष्ट्रका Head of NCB तथा प्रतिनिधिहरू सहभागी हुने महासभामा सदस्य राष्ट्रहरुको वार्षिक प्रतिबेदन पेश हुने, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरुको निर्वाचन हुने, नयाँ सदस्यताका लागि आवेदन गर्ने देशका लागि मतदानद्वारा निर्वाचन हुने र विभिन्न देशबीच विविध विषयमा द्विपक्षीय छलफल तथा निर्णय हुने लगायतका कार्यक्रम रहेका छन् । यस वर्ष महासभामा इन्टरपोल सदस्यताको लागि दि फेडेरेटेट स्टेट्स अफ माईक्रोनेसियाले आवेदन गरेको छ ।

महासभामा इन्टरपोल तथ्याङ्क प्रशोधनको आवश्यकता, प्रहरी कार्य तथा प्रविधि, बजेट, संगठित अपराध, साइबर क्राइम, आतंकवाद, मानव बेचबिखन जस्ता अपराध लगायतका विविध विषयमा संकल्प प्रस्ताव प्रस्तुत हुने तथा प्रस्तुत प्रस्तावमा छलफल भई महासभाबाट पारित हुने कार्यक्रम हुनेछन । नेपालको प्रतिनिधि मण्डलले टर्की, यूएई, दंक्षिण कोरिया र बंगलादेशसँग समेत विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..