आज २०३ औँ मार्क्स जयन्ती : यस्तो छ जीवनी

आजभन्दा २ सय ३ वर्षअघि अर्थात् ५ मे, १८१८ मा जन्मिएका विश्व विख्यात दर्शनशास्त्री तथा कम्युनिष्ट विचारका प्रणेता हुन् कार्ल मार्क्स । आधुनिक विश्वका सबैभन्दा प्रभावशाली राजनीतिज्ञ कार्ल मार्क्सले सन् १८४८ मा २९ वर्षको उमेरमै फ्रेडेरिक एङ्गेल्ससँग मिलेर कम्युनिष्ट पार्टीको घोषणा पत्र लेख्नुभएको थियो । यो त्यस्तो दस्तावेज हो, जुन संसारमा सबैभन्दा बढी पढिएको र प्रयोगमा ल्याइएको मानिन्छ । राजनीतिक क्षेत्रमा एक किसिमको हलचल नै ल्याइदिएको त्यो घोषणापत्रले खासगरी पुँजीवादी विश्व समाज कसरी परिवर्तन हुन्छ र शोषणरहित समाजको निर्माण कसरी सम्भव छ भन्ने व्याख्या गरेको छ ।

प्रसिया राज्यको लोअररीन् प्रान्तको ट्रायर् भन्ने ठाउँमा जन्मिनुभएका कार्ल मार्क्सका पिता हेनरिक मार्क्स वकील थिए । उनका माता पिता दुवै यहूदी भएकाले कार्ल मार्क्सलाई ६ वर्षको उमेरमा एउटा चर्चमा बख्तिस् दिलाइएको थियो । कार्ल मार्क्सले प्रसियाका ब्यापारीकी छोरी जेनी वोन् वेस्ट् फ्यालेन् सँग सन् १८४३ १९ जून मा बिहे गर्नुभएको थियो । मार्क्स र जेनिका सात जना सन्तानहरू जन्मिए पनि गरीबीको कारणले तीन जना मात्र जीवित रहे । मार्क्सको आयको प्रमुख श्रोत फ्रेड्रिक् एंगेल्सबाट पाएको सहयोग मात्र थियो । मार्क्सले प्रायः हात मुख जोड्ने समस्याका बीचबाट नै जीवनयापन गरे, यसको कारण केही हदसम्म उनका पत्नी र सन्तानहरूको विलासिता थियो । जो मार्क्सले सामाजिक स्थिति एवं समयको संस्कृतिको निम्ति जरूरी सोचेका थिए ।

डिसेम्बर १८८१ मा पत्नी जेनीको मृत्यु भएपछि मार्क्स रूघाखोकिबाट ग्रस्त भएका थिए र त्यसले बिस्तारै ब्रोन्क्राइटिस्ट्को ‍रूप लिएपछि १५ महिना अस्वस्थ बिताउनुपर्यो । यसकै कारण १४ मार्च १८८३ को दिन लन्डनमा उनको देहावसान भयो । सांस्कृतिक इतिहासकारहरू कार्ल मार्क्सलाई आधुनिक र पूर्वाधुनिक समाजको बीचमा शृङ्खलाबद्ध अवधारणा कायम गराउने प्रथम प्रमुख सामाजिक विचारक मान्दछन् ।

मार्क्सका माता पिताले उनलाई तेह्र वर्षको उमेरसम्म घरैमा शिक्षा दिएका थिए । सन् १८३५ मा ट्रायर् जिम्नाजियम् स्कूलबाट स्नातक गरेपछि १७ वर्षको उमेरमा बून विश्वविद्यालयमा भर्ना मार्क्सलाई उनका पिताले कानुन विषय अध्ययनमा लगाएका थिए । अगुवा भएको कारण कम अङ्क प्राप्त गरेको भन्दै पिताले बर्लिन विश्वविद्यालयमा सरुवा गरे जहाँ दर्शन शास्त्र र इतिहास अध्ययनका कारण कानुन विषयको महत्व घट्यो । यस अवधिमा मार्क्सले धेरै कविता र निबन्धहरू लेखे ।

कार्ल मार्क्सले सन् १८४२ मा ब्रुनो बुयरसँग मिलेर ‘रेन्चे जाइतुङ’ नामक पत्रिका निकालेर  किसानमाथि गरिएको विभेदविरुद्ध लेखेपछि पर्सियन सरकारले प्रतिबन्ध लगायो र उनलाई देश निकाला गरियाे ।

पर्सियापछि मार्क्सलाई पेरिस बस्न पनि प्रतिबन्ध लाग्यो र उनी ब्रसेल्समा पुगे । त्यही वर्ष एंगेल्सको ‘कन्डिसन्स अफ दी वर्किङ क्लास इन इंग्लैन्ड’ बाहिर आयो जुन बृहत् अध्ययन तथा वस्तुगत अनुसन्धानका आधारमा आधारित थियो । त्यसपछि एंगेल्ससँगै मार्क्स इंग्लैन्ड पुगे र राजनीतिक अर्थशास्त्र, इंग्लिस र समाजवाद पढ्न थाले । श्रमजीवि सङ्गठनका नेताकार्यकर्तासँग उठबस गर्न थाले ।

दुईजना मिलेर १८४५ मै जर्मन आइडोलोजी नामक पुस्तक लेखे, तर त्यो पुस्तक भने १९३२ मा मात्र प्रकाशित भयो । १८४८ मा प्रुधोँको आलोचना गर्दै लेखिएको पुस्तक ‘दी पोभर्टी अफ फिलोसोफी’ प्रकाशित भयो । ब्रसेल्समा बस्दा मार्क्स सङ्गठन निर्माणको काममा पनि संलग्न भए । त्यही विचार आदान–प्रदानका लागि एक अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गरे ।

त्यही सञ्जाल पछि गएर ‘श्रमजीवी जनताको पहिलो अन्तर्राष्ट्रिय आन्दोलन’का रूपमा स्थापित भयो । ९ जुन अफ १८४७ मा पहिलो सम्मेलन गरेर ‘ओर्किङ म्यान आफ दी अल कन्ट्रिज युनाइट’ घोषणा गरियो । त्यही वर्ष गरिएको दोस्रो सम्मेलनले मार्क्स र एंगेल्सलाई राजनीतिक तथा सैद्धन्तिक कार्यक्रम तयार पार्ने जिम्मा दियो ।

उनीहरूले सन् १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्र तयार पारे । घोषणापत्र प्रकाशित भएपछि युरोपमा ठूलो हल्लीखल्ली हुन पुग्यो । जर्मन र फ्रान्सबाट पुनः लखेटिएपछि मार्क्स १८४९ मा लन्डनमा बस्न थाले र जीवनभर त्यहीँ रहे ।

जर्मन दार्शनिक कार्ल मार्क्सले १९औं शताब्दीमा धेरै कुरा लेखे । तीमध्ये ‘कम्युनिस्ट घोषणापत्र’ र ‘दास क्यापिटल’ले कुनै समय संसारका कैयौं देश र करोडौं मानिसमा राजनीतिक र आर्थिक रूपबाट निर्णयात्मक प्रभाव पार्यो । यसमा सायदै दुईमत होला ।

‘रुसी क्रान्ति’पछि सोभियत संघको उदय यसको उदाहरण थियो । २०औं शताब्दीको इतिहासमा समाजवादी खेमाको ठूलो प्रभाव रहेकोमा कसैले इन्कार गर्न सक्दैन । यद्यपि, जसरी मार्क्स र एंगेल्सले लेखेका थिए, त्यसैगरी साम्यवाद प्रयोग भने हुन सकेन ।

अन्ततः समाजवादी खेमा ढल्यो र पुँजीवाद संसारभर छायो । मार्क्र्सले परिकल्पना गरेको साम्यवादबारे आ–आफ्नै व्याख्या होलान् । तर, साम्यवाद असफल भयो भन्ने तर्क भइरहेको सन्दर्भमा समेत आज पनि मार्क्सका कतिपय विचार सान्दर्भिक र प्रयोगशील छन् ।

‘कम्युनिस्ट घोषणापत्र’ र आफ्ना अन्य लेखमा मार्क्सले पुँजीवादी समाजमा ‘वर्ग संघर्ष’को कुरा गरे । अन्ततः संघर्षमार्फत् कसरी सर्वहारा वर्गले संसारमा बुर्जुवा वर्गलाई हटाएर सत्ता कब्जा गर्नेछन् भन्ने बताए ।

आफ्नो सबैभन्दा प्रसिद्ध कृति ‘दास क्यापिटल’मा उनले आफ्ना यी विचारलाई निकै तथ्यात्मक र वैज्ञानिक पद्धतिबाट विश्लेषण गरेका छन् । मार्क्सका प्रतिष्ठित जीवनी लेखक बेलायतका फ्रान्सिस ह्वीन भन्छन्, ‘मार्क्सले त्यो सर्वग्राही पुँजीवादविरुद्ध दार्शनिक तरिकाबाट तर्क राखेका थिए, जसले पूरै मानवसभ्यतालाई गुलाम बनाएको थियो ।’

२०औं शताब्दीमा मजदुरले रुस, चीन, क्युबा र अन्य देशका शासक उखेलेर फ्याँके र निजी सम्पत्ति तथा उत्पादनका साधन कब्जा गरे । २००७–०८ मा आएको विश्वमन्दीले एकपटक फेरि उनको विचारलाई सान्दर्भिक बनाइदियो ।

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..