१६ वर्षीया सुस्मिता ऋषिदेव आज गाउँपालिका अध्यक्ष बन्दै !

मोरङ्गको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया सुस्मिता ऋषिदेव मंगलबार एक दिनका लागि गाउँपालिका प्रमुख हुने भएकी छन्। ५७ औं राष्ट्रिय बालदिवसको अवसरमा गाउँपालिका प्रमुखले गर्ने सम्पूर्ण काम मंगलबार उनले गर्ने भएकी हुन्।

बालबालिकाहरुलाई स्थानीय सरकार के हो र यसले कसरी कार्य गर्छ भन्‍ने अनुभूती दिलाउने उद्देश्य अनुसार बालिकालाई एक दिनका लागि गाउँपालिका प्रमुख बनाउने कार्यक्रम राखिएको राष्ट्रिय बाल अधिकार परिषद् प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले बताए।

बूढीगंगा गाउँ कार्यपालिकाको सोमबारको बैठकले मंगलबार राष्ट्रिय बाल दिवसका दिन गाउँपालिकाको एक बालिकालाई आर्थिक र प्रशासनिक अधिकार बाहेक सांकेतिक रुपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको छ। गाउँपालिकाको निर्णय अनुसार मंगलबार बिहान १० बजे गाउँपालिका अध्यक्षबाट अध्यक्षका लागि छनोट भएकी सुस्मिता ऋषिदेवलाई जिम्मेवारी प्रदान गरिएको पत्र प्रदान गरिने, पत्र प्राप्त भए पश्चात बालिकालाई अध्यक्षको पदभार ग्रहण गराइने कार्यक्रम रहेको अधिकारीले बताए।

कार्यपालिकाको बैठक पश्चात नजिकको एक विद्यालय र एक स्वास्थ्य चौकीको अनुगमन गर्ने, अनुगमनपछि पालिकाका कर्मचारी जनप्रतिनिधिहरु र अन्य समेतको सहभागितामा कार्यक्रम सञ्‍चालन गरी अनुमगनसम्बन्धी धारणाहरुको विषयमा छलफल र अन्तर्क्रिया सञ्‍चालन गर्ने र कार्यपालिकाको बैठक सञ्‍चालन र धन्यवादसहित निर्वाचित अध्यक्ष बालचन्द्र माझीलाई जिम्मेवारी हस्तान्तरण गरिने अधिकारीले बताए।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..