ढाडमा टेकेर टाउको हान्ने एमाले सांसदको दाउ

सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाएका थिए । सवा १ बजे सुरु भएको बैठकमा राष्ट्रिय गानपछि सभामुख सापकोटा कार्यसूचीमा प्रवेश नगर्दै प्रमुख प्रतिपक्ष एमालेका सांसदहरू रोस्ट्रमतर्फ दौडिहाले । सभामुखले ‘माननीय सदस्यहरू प्रतिनिधिसभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ’ भनिसक्दा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी सुरु भइसकेको थियो ।

उनीहरूले सभामुखतिर औंला ठड्याउँदै ‘पक्षपातपूर्ण व्यवहार बन्द गर’, ‘संसदीय मर्यादा कायम गर’, ‘पदीय मर्यादा कायम गर’, ‘विधिको शासन लागू गर’, ‘कानुनको सर्वोच्चता लागू गर’ जस्ता नारा लगाए । रोस्ट्रममा जान मर्यादापालकले रोकेपछि एमाले सांसदले ‘मर्यादापालकको दमन मुर्दावाद, सदनभित्र बल प्रयोग गर्न पाइँदैन’ जस्ता नारासमेत लगाएका थिए । दोस्रो बैठकमा एमाले सांसदहरू बढी आक्रामक देखिए । ठेलमठेलले कांग्रेस सांसद शशांक कोइराला, प्रकाशमान सिंह, सीतादेवी यादव बसेको ठाउँको टेबल भाँचियो ।

पौने ४ बजेको तेस्रो बैठकमा एमालेका सांसद झन् आक्रामक भए । एमाले सांसदहरू कसरी हुन्छ रोस्ट्रममा जाने सुरमा लागे । रोस्ट्रमतर्फ जाने दुवै सिँढीमा मर्यादापालकले छेकेपछि बीचबाट पनि चढ्न खोजे । यही बीचमा एमालेकी सांसद रेखाकुमारी झाले गृहमन्त्रीको टेबलमा राखिएको माइक झिकेर रोस्ट्रमतिर हान्ने प्रयास गरिन् । मर्यादापालकले उनको हातको माइक खोसे । माइक निकाल्दा गृहमन्त्री भने हेरिरहे ।

बैठक सकिएर बाहिर निस्कँदा सांसद झाले सभामुखलाई हान्न माइक निकालेको बताइन् । ‘जे पायो त्यसैले टाउको फुटाउने योजना थियो । सभामुख र अर्थमन्त्रीको टाउको फुटाउनका लागि माइक उठाएकी हो । आज सकिएन अर्को दिन फेरि हान्छु,’ उनले भनिन् । तस्बिर : अंगद ढकाल/कान्तिपुर

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..