बतास काण्डमा विवादित बनेपछि नारायणहिटीका कार्यकारी निर्देशकको राजीनामा स्वीकृत

  • 6 days अगाडि

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिएको राजीनामा स्वीकृत भएको छ।

उनले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएका थिए।

दाहालको राजीनामा आजै स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए। ‘कार्यकारी निर्देशक दाहालले राजीनामा दिनुभएको थियो, उहाँको राजीनामा स्वीकृत भएको छ’ उनले भने।

नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहलाई क्याफेटेरिया बनाउन जग्गा भाडामा दिँदा कार्यकारी निर्देशक दाहालको कमजोरी भएको छानबिन समितिले औंल्याएको थियो। छानबिन समितिले मिलेमतोमा सम्झौता भएको प्रतिवेदन बुझाएसँगै दाहालले राजीनामा बुझाएका थिए।

जग्गा भाडा दिएको विषय विवादित बनेपछि मन्त्री आलेको निर्देशनमा छानबिन समिति बनेको थियो। समितिले पुस २६ गते मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो।