को बन्ला एमाले महासचिव: जबजका व्याख्याता कि बालुवाटार काण्डमा डामिएका ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति नजुटे दसौँ राष्ट्रिय महाधिवेशनको नेतृत्व चुनावबाटै छानिने बताएका छन्। अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म चुनाव गर्ने ओलीले स्पष्ट पारेका हुन्। मंगलबार काठमाडौंमा सम्पादकसँगको अन्तर्क्रियामा बोल्दै अध्यक्ष ओलीले आफुले कसैलाई दबाब नदिने प्रष्ट पारे। एमालेको १०–१२ चितवनमा हुने महाधिवेशनका लागि भीम रावललगायतका नेताले उम्मेदवारी घोषणा गरेपछि ओलीले सो प्रतिक्रिया दिएका हुन्।

उनले सहमति केमा गर्न खोजेको भन्दै प्रश्न गरे। ‘पदाधिकारीमा सहमति खोज्नुहुन्छ कि अरूमा’, प्रश्न गर्दै ओलीले थपे, ‘मेरा कारणले कसैलाई दबाब दिन्न, दबाब हुने खालका कुनै काम हुँदैन। मेरो इच्छा त मिलेर जाने हो, कर लगाएर उठ्नु भन्नुपरोस् न, सहमति नभए सबैमा चुनाव हुन्छ, पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म।’

अध्यक्ष ओलीले विगतमा जो जो जहाँ भए पनि अहिले सबै एमाले नै भएको बताए।‘हिजो को कता भन्ने हो, आज हामी सबै एकै ठाउँमा छौँ, अहिलेको व्यवस्थापन भनेको चुनाव भोट ल्याएर जित्ने हो, यसको पक्ष र त्यसको पक्ष भनिरहँदा पार्टी एकजुट हुँदैन, हाम्रोमा नेताको व्यवस्थापन मुख्य कुरा होइन’, ओलीले थपे ।

शुक्रबारदेखि शुरु हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी भइरहँदा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत अध्यक्षको निम्ति अनेक जोड घटाउमा लागेका छन् । उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवार हुने घोषणा गरेपछि उनको सर्वसम्मत हुने चाहनालाई भने धक्का पुगेको छ ।

सबै परिस्थितिलाई सुक्ष्म अध्ययन गर्दै आएका ओलीले वरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेललाई नदिएर रावललाई अध्यक्षको उम्मेदवार हुनबाट जोगाउने अन्तिम अस्त्र अझै बाँकी छ । सर्वसम्मत नेतृत्व चयनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो दुई दिनयता आफूनिकट नेताहरुसँग परामर्श गरिरहेका छन्। परामर्शको क्रममा सबभन्दा चर्को दौडधुप ओलीका सम्भावित उत्तराधिकारी अर्थात् महासचिव बन्ने र बनाउनेमा देखिएको छ।

अध्यक्ष ओलीले महासचिव कसलाई बनाउने भनेर मुख खोलिनसकेको अवस्थामा पौडेल र पोखरेलका पक्षमा अन्य नेताहरुले भने घुमाउरो रुपमा आफ्नो कित्ता क्लियर गर्न थालेका छन्। वरिष्ठ उपाध्यक्षको समेत दाबी गरिरहेका सुवास नेम्वाङलगायतको समूहले महासचिव पौडेललाई बनाउनुपर्ने भन्दै ओलीलाई दबाब दिन थालेका छन् ।

एमालेको नवौं महाधिवेशनमा ओलीको प्यानलबाट विष्णु पौडेल उपमहासचिव पदमा विजयी भएका हुन्। पछि एमाले र माओवादी केन्द्रबीच एकता भयो। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुचाएका पौडेल नेकपाको महासचिव बनाइए।

इश्वर पोखरेल, विष्णु रिमाल लगायतको समूह भने शंकर पोखरेलका पक्षमा लागेको छ। पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनबाद (जबज)का व्याख्याता समेत रहेकाले उनलाई महासचिव बनाउँदा पार्टीले सही दिशा समात्ने भन्दै यो समूहले अध्यक्ष ओलीलाई दबाब दिइरहेको छ। ओलीको मात्रै होइन, राष्ट्रपति विद्यादेवी भण्डारीको पनि पोखरेलप्रति सद्‌भाव रहेको बताइन्छ।

एमालेको छैटौं महाधिवेशनले जबजलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा पारित गर्‍यो। त्यसले पोखरेललाई अझ प्रभावशाली बनायो। सातौं महाधिवेशनमा उनले अघि सारेको संविधानसभामा जानुपर्ने विचारले उनलाई चर्चित बनाएको थियो।

नवौं महाधिवेशनमा बहालवाला महासचिव ईश्वर पोखरेलसँग जम्मा ६ मतले पराजित भएका सुरेन्द्र पाण्डे पनि महासचिवका दाबेदार हुन्। एमालेले पाण्डेकै निर्वाचन क्षेत्र रहेको जिल्लामा महाधिवेशन गर्दै छ। त्यसको मूल व्यवस्थापन समितिको सहसंयोजकको जिम्मेवारी उनले पाएका छन्। पाण्डेलाई माधव नेपाल उक्साएर पार्टी फुटाएको आरोप पनि लाग्दै आएको छ भने एमालेको एक खेमाले उनलाई रुचाउने छैन । प्रखर रुपमा पौडेल र पोखरेल एमाले महासचिवका प्रमुख दाबेदार हुन् । जबजका व्याख्याता पोखरेल कि बालुवाटार काण्डमा डामिएका पौडेल एमाले महासचिव हुन्छन भन्ने छिनोफानो केहि दिनमा हुनेछ ।

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..