माधव पक्षलाई सकस : बालुवाटारमा कारबाही तयारी, सर्वोच्चमा मुद्धा

नेकपा (एमाले)ले माधव नेपाल पक्षका केही सांसदलाई निष्कासनको तयारी गरेको छ । माधव नेपाल, भीम रावलसहित निलम्वित चार र अन्य नेतामाथि समेत थप कारवाही हुने लागेको एमाले स्रोतले जनाएको छ ।

माधव नेपाल र झलनाथ खनालले फ्लोर क्रस गरेर अविश्वास प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारी पाएपछि बालुवाटारमा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाइएको छ ।

सोही बैठकले स्पष्टीकरण सोधिएका सांसदहरुमाथि कारवाही प्रक्रिया अघि बढाउन लागेको स्रोतले जनाएको छ । कारवाहीको प्रकृतिबारे प्रष्ट पारिएको छैन । एमालेको विधानले दललाई तत्कालै कुनै ठूलो हानी हुने अवस्था आएमा सांसदलाई ६ महिनासम्म निलम्बन गर्न सक्ने अधिकार दिएको छ ।

एमालेबाट निलम्वनमा परेका चारजना नेताले आफूहरुसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिटमाथि आज सुनुवाई हुँदैछ ।

माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट संयुक्त रुपमा पेश गरिएको १४ बुँदे मागसहितको रीटमाथि न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा सुनुवाई हुने भएको हो । एमाले नेताहरुको रिट ढुंगानाको इजलासको अन्तिमतिर परेकाले आज हेर्न नभ्याइनेमा पर्न सक्ने बताइएको छ ।

रिट निवेदकले आफूहरुमाथि गर्न लागिएको निष्काषनको कारवाही उत्प्रेषण,प्रतिषेधको आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ भनिएको छ । ती नेताहरुले निर्वाचन आयोगमा कायम रहेको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने परमादेश आयोगका नाममा समेत जारी हुनुपर्ने माग गरेका छ ।

त्यस्तै आफूहरुले दल त्याग गरेको भनी एमालेले कारवाही गर्न सक्ने पूर्ण आशंका भएकाले सो कार्य रोक्न र संघीय संसद सचिवालयलाई पनि सांसद पद रिक्त गर्ने प्रक्रियाको पत्र गएमा सो कार्य नगर्न परमादेश माग गरिएको छ ।

Roshan Rimal
http://kantipath.com

यो छुट्टाउनु भो कि..